विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–६, हकपाडाबाट भन्सार छली गरी ल्याइएका लत्ताकपडासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एच ०२–८६३ नम्बरको मोटरसाइकलको जाँच गर्ने क्रममा लत्ताकपडा फेला परेको हो । प्रहरीका अनुसार बरामद लत्ताकपडाको मूल्य ४ लाख १० हजार ४ सय रुपैयाँ रहेको छ ।
घटनामा मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–६ निवासी ३० वर्षीय मोहम्मद सज्जादलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सज्जादलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

































