विजयपुर । सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयको आयोजनामा २१औँ ललित–अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८३ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सोमबार विद्यालयले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिँदै विद्यालयस्तरमा फुटबल खेलको विकास र प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । प्रतियोगिता पुस १ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीमा लुकेको फुटबल प्रतिभा पहिचान गर्नुका साथै विद्यालयहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तारमा सहयोग पुर्याउने अपेक्षा छ । विशेषगरी कक्षा ५ सम्मका बालबालिकालाई फुटबल खेलमा सहभागी गराई उनीहरूको प्रतिभा उजागर गर्ने तथा ठूला प्रतियोगितामा अवसर नपाएका खेलाडीलाई प्रतिस्पर्धाको मौका प्रदान गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा मुख्य डिपो कपतर्फ प्रथम हुने टोलीले २० हजार रुपैयाँसहित रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यसैगरी, प्लेट च्याम्पियनसिपतर्फ विजेताले सात हजार रुपैयाँसहित रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले पाँच हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछ ।
गत संस्करणमा डिपो माध्यमिक विद्यालय, धरान–१८ विजेता बनेको थियो । धरान बोर्डिङ स्कुल, धरान–५ उपविजेता र नेपाल पुलिस स्कुल, धरान–१३ तेस्रो भएको थियो । प्लेट च्याम्पियनसिपतर्फ हिमशिखर बोर्डिङ स्कुल, तरहराले उपाधि जित्दा प्रभात बोर्डिङ स्कुल, धरान–१२ उपविजेता बनेको थियो ।
विद्यालयले फुटबल प्रतियोगितामार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्याउने र धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

































