विजयपुर । धरान उपमहानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरणका लागि बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाको धरान–१३ स्थित पशुपन्छी विकास शाखाका प्रमुख किशोर त्रिखत्रीका अनुसार पर्याप्त बजेट अभावका कारण सडक तथा सामुदायिक कुकुरको संख्या पूर्ण रूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको छ । 

उपमहानगरपालिकाले चार लाख रुपैयाँको बजेटमा २०० वटा कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाएको छ । धरान–१३ स्थित पशुपन्छी विकास शाखामा सोमबार र मंगलबार सञ्चालन गरिएको अभियानमा इटहरीस्थित नेपाल एग्री लाइभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।

‘प्राणघातक रेबिज रोगबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले कुकुरको टोकाइबाट सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण गर्नुका साथै सडक तथा सामुदायिक कुकुरको अनियन्त्रित वृद्धि रोक्न सहयोग पुग्ने शाखा प्रमुख त्रिखत्रीले बताए ।

उपमहानगरपालिकाले बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रममार्फत जनस्वास्थ्यको सुरक्षा र सामुदायिक कुकुरको उचित व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरेको छ ।

dogs