प्रदेश १ स्तरीय गायन तथा नृत्य प्रतियोगिता वाई वाई एसइइ स्टेट-१ सिङ्गिङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को दोस्रो चरणको अडिसन धरानमा सम्पन्न भएको छ ।
धरान-१६ स्थित युएन कलेजको सेमिनार हलमा शनिवार सम्पन्न दोस्रो चरणको अडिसनमा सिङ्गिङ आइडल सिजन-२ का लागी २५ जना र डान्सिङ्ग स्टार सिजन- १ को तेस्रो चरणका लागि १४ जना छनोट भएको फक्ताङ्लुङ मिडिया हाउस प्रा.लिका अध्यक्ष तथा युएन कलेज नबोदयका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले बताए ।
उनका अनुसार दोस्रो चरणको अडिसनमा पहिलो चरबाट छनोट भएका गायन तर्फका ४१ जना तथा नृत्य तर्फ २० गरी ६१ जना प्रतिस्पर्धीहरू सहभागी रहेका थिए ।

फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रतियोगिताको निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन-२ का फाईनलिस्ट विकास लिम्बू र सङ्गीतकार विनायक राई रहेका छन्। त्यस्तै, नृत्यतर्फ छमछमी सिजन-३ कि फस्ट रनर अप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम सम्बाहाम्फे रहेका छन्।

गायन र नृत्य दुबैतर्फका विजेताले ५० हजार नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३० हजार नगद, प्लस टुका लागि ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष तुम्बापोले बताए ।
प्रतियोगिताको सेमिफाइनल आगामी जेठ २८ गते शनिवार युएन सेमिनार हलमा हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए।