धरान । अमेरिकामा भइरहेको नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युएसए’ मा झापाली युवा प्रेम आङ्देम्बेले तेस्रो राउन्ड पार गरेका छन् ।

झापाको शिवसताक्षी–६ हवल्दार चौक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो भ्वाइस कपमा छनौट भएका हुन् ।

अडिसन राउण्डमा प्रेमले कर्ण दासको गीत ‘त्यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु...’ गाएर निर्णायकहरूको मन जितेका थिए । दोस्रो राउन्डको ‘ब्लाइन्ड अडिसन’ पार गर्ने क्रममा उनले जगदीश समालको गीत ‘अलि अलि भन्दाभन्दै धेरै पिउने भइसकेछु...’ गाए । हालै तेस्रो राउन्डसमेत पार गर्दै उनले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । शनिबारको शृङ्खलामा उनले चलचित्र कबड्डी–४ को गीत ‘आँखामा सपना कसरी...’ प्रस्तुत गरे ।

अब आउने राउण्ड पनि पार गर्न सकेमा प्रेम उत्कृष्ट १२ मा छनौट हुनेछन् । यो कार्यक्रमको उत्कृष्ट १२ मा छनोट हुनेहरूलाई आयोजकले अमेरिकाबाट नेपाल ल्याउने भएको छ ।

उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई ल्याएर नेपालमै कार्यक्रम छायाङ्कन गरिनेछ । त्यसबाट ८ जनालाई बिदा गर्दै उत्कृष्ट ४ जनालाई मात्र अमेरिका लगिने बताइएको छ । प्रतियोगिताको फाइनल भने अमेरिकामा नै हुनेछ ।