धरान । नेपाली अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिवल’ मा सहभागी जनाउने सम्भवतः पहिलो नेपाली नायिका बनेकी छन् ।

७५ औं कान्समा उनी रातो कार्पेटमा हिँडेकी छन् । अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ मा सानो भूमिकामा देखिएकी उनलाई फिल्म निर्माण युनिटले अनुबन्ध गरेपश्चात् कान्समा सहभागी भएकी हन् ।

यो फिल्मलाई चलचित्रको रूप भने बेल्जियमका निर्देशक फेलिक्स भान ग्रोनिन्जेन र चार्लोटे भान्डरमेर्शले गरेका हुन् । फिल्म पाओलो कगनेट्टीको उपन्यासमा आधारित रहेको छ । उनी इटालियन लेखक हुन् ।

कान्स चलचित्र महोत्सव १७ मेदेखि २८ मेसम्म जारी रहन्छ । फ्रान्समा भइरहेको कान्स महोत्सवमा सहभागी हुनका लागि केही समय पहिले उनी त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएकी थिइन् ।

फ्रान्स, इटाली र बेल्जियमको सह–उत्पादनमा फिल्म बनेको हो । जसको केही अंश नेपालमा छायाङ्कन गरिएको थियो । उक्त फिल्म कान्समा छानिएका कारण महोत्सवमा हिस्सा लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । फिल्म मित्रता र अस्तित्वको यात्राको कथामा आधारित रहेको छ ।