इनरुवा । सिमसार जोगाउन कोसीटप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ ।

सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरीसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षित क्षेत्रको रूपमा रहेको कोसीटप्पुको सिमसार क्षेत्र पछिल्लो सयम जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिँदो क्रममा छ ।

मासिँदो सिमसार र सङ्कटोन्मुख प्रजातिको संरक्षणको उद्देश्यसाथ त्यस क्षेत्रमा सफाइको काम थालिएको हो । संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ । समुदायमा शिक्षा र सचेतना जगाउँदै आश्रित परिवारको जीविकोपार्जनमूखी कार्यक्रमलाई समेत सिमसार संरक्षणसँगै अघि बढाइएको छ ।

समुदाय परिचालकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका गुलाबी मुखियाका अनुसार सिमसारमा आश्रित परिवारलाई साथमा लिएर धमाधम सिमसार सफाइको काम गरिँदै आएको छ । स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात र वनस्पति हटाउने कार्यको काम गर्दै आएको उनको भनाइ छ । उनका अनुसार सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाएर स्थानीयले नै प्रयोगमा ल्याउन मिल्ने गरी तयारीसमेत अघि बढाइएको छ ।

सफाइ थालेसँगै आरक्ष तथा मध्यवर्ती क्षेत्रको सिमसारको स्वरूप फेरिन थालेको स्थानीयले महसुस गर्न थालेका छन् । स्थानीय अमृता सरदार भन्छिन्, ‘सिमसार संरक्षणको काम थालेसँगै परिवर्तनको आभास महसुस भएको छ । पानी सफा मात्र नभई जलकुम्भी र मिचाहा प्रजातिका झार हटाउँदा सिमसारको सौन्दर्य फर्किएको छ । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको छ ।’

२० वर्षयता कोसीटप्पुमा नेचर गाइडको काम गर्दै आएका अनिष तिम्सिनासमेत अमृताको भनाइमा सहमत देखिन्छन् । विगतलाई सम्झँदै उनी थप्छन्, ‘चरा उड्दा बादल लागेजस्तो हुने उबेलाको अवस्था त छैन । यद्यपि केही समययता संरक्षणको क्षेत्रमा भएका प्रयास क्रमशः सार्थक बन्दै गएका छन् । लोप हुँदै गएका चरा प्रजाति आरक्ष हातामा देखिन थालेका छन् । मासिँदो सिमसार र गुम्दो बासस्थानले हराउँदै गएका माछा, चरा लगायतका जीवजन्तु सफा र हराभरा सिमसारमा भेटिने क्रम बढेको छ । जुन निकै सकारात्मक विषय हो । जसको संरक्षणमा सरोकारवालाको पर्याप्त ध्यान जान जरुरी छ ।’

मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोसीटप्पु टु कञ्चनजङ्घा बेल्ट परियोजना अन्तर्गत कोसीटप्पुमा संरक्षणका काम अघि बढाउँदै आएको छ । बेल्टको प्रमुख उद्देश्य भनेको सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु हो । जसको सुनसरीतर्फको जिम्मेवारी कोसीटप्पु लर्निङ ग्राउण्ड मातहत रहेको छ ।

परियोजना अन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिदसमेत गरी सकिएको बताउने लर्निङ ग्राउण्डका कार्यक्रम संयोजक राजकुमार सिंहले थप जग्गा खरिदको प्रक्रियामा रहेको बताए । उनका अनुसार क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोसी बाँँध फुट्नुपूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाइभर्सिटी फण्डले ठूलो धनराशि खर्च गर्दैछ ।

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष लिएको केटीके बेल्ट परियोजनाले सिमसार सफाइ, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउँदै लगेको सिंहले बताए । सिंहका अनुसार माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको बासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोली अध्ययन तथा अनुसन्धानको क्रममा छिट्टै अनुगमनमा कोसीटप्पु आउन लागेको बताए ।