धरान । माओवादी द्वन्द्वको विषय उठाएर गायक प्रकाश सपुतको हालै सार्वजनिक नयाँ गीत ‘पिर’ विवाद उत्पन्न भएको छ ।

यो गीत र भिडियोले माओवादी आन्दोलनलाई अवमूल्यन गरेको भन्दै माओवादी कार्यकर्ता र समर्थकले विरोध गरिरहेका छन् भने माओवादीबाहेकका अन्यले भने गीतले माओवादी द्वन्द्वको यथार्थ प्रस्तुत गरेको भन्दै प्रशंसा गरिरहेका छन् ।

शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको यो गीतको भिडियो दुई दिनमा २३ लाखभन्दा बढीले हेरिसकेका छन् । गीतको पक्ष र विपक्षमा भइरहेका विवादले सामाजिक सञ्जाल तरङ्गीत भएको छ ।

गीतमा माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाहरू सत्तामा पुगेका तर, सोझासिधा कार्यकर्ता र लडाकुहरू भने अहिले पनि खाडी मुलुकतिर पलायन हुनुपर्ने बाध्यता रहेको कथा प्रस्तुत गरिएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएका बेला गीतमार्फत् यस्तो सन्देश सार्वजनिक हुँदा आगामी चुनावमा असर पर्ने माओवादी पक्षको चिन्ता छ । कतिपय माओवादी कार्यकर्ताले गायक सपुतलाई धम्कीसमेत दिएको खबर सार्वजनिक भएको छ ।

गायक सपुतकै शब्द, सङ्गीत रहेको गीतमा सम्झना भण्डारीको पनि स्वर रहेको छ ।  गायक सपुतकै कथा र निर्देशनमा तयार भएको भिडियोमा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य भएको र विदेशमा बन्धक बनेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा सपुतसँगै सुरक्षा पन्तले अभिनय गरेकी छन् ।