धरान । युवापुस्तामाझ लोकप्रिय गायक एकदेव लिम्बूले आफ्नो एकजना फ्यानको घरमै पुगेर गीत सुनाएका छन् ।

सोमबार शारीरिक अशक्तता भएकी फुङ्सो लिम्बूको घरमै पुगेर उनले गीत गाएर सुनाए । गत शनिबार धरानमा आयोजित ‘मनोरञ्जन धमाका’ कार्यक्रममा गाउनका लागि आएका एकदेवले हजारौं दर्शक श्रोतामाझ गाएका थिए ।

दर्शक श्रोतालाई नचाउँदै गाइरहेका एकदेवको प्रस्तुति प्रत्यक्ष हेर्न मन भए पनि धरान–१३ फुस्रेकी १६ वर्षीया फुङ्सो लिम्बू कार्यक्रममा आउन सकिनन् । उनले घरबाटै फेसबुक लाइभमा कार्यक्रम हेरिन् । उनकी आमा मञ्जु लिम्बू भने कार्यक्रममा सहभागी भएकी थिइन् । उनी घर फर्किएपछि एकदेवको कार्यक्रम प्रत्यक्ष हेरेको बताउँदा छोरी फुङ्सोका आँखा रसाए । किनभने उनी एकदेवका हरेक गीतहरू युट्युबमा हेरेर फ्यान भएकी थिइन् ।

एकदेवले धरानको भव्य कन्सर्टमा आफ्ना फ्यानहरूसँगको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । कार्यक्रममा चाहेर पनि सहभागी हुन नसकेकी फुङ्सोले प्रतिक्रिया लेखिन्, ‘म हजुरको ठूलो फ्यान हुँ, हजुरलाई हेर्न धेरै मन थियो तर, म हिँड्न सक्दिन नि त... ।’ यो प्रतिक्रियाले एकदेवको मन छोयो । उनी भक्कानिए । आफ्नो कार्यक्रम प्रत्यक्ष हेर्न नपाएकी फुङ्सोलाई प्रत्यक्ष गीत सुनाउने इच्छा जाग्यो । ‘उहाँको प्रतिक्रियाले म भावुक भएँ, त्यसैले जसरी भए पनि भेट्न चाहेको थिएँ । घरमै पुगेर प्रत्यक्ष गीत सुनाउन पाएँ । एकदम खुसी छु’–एकदेवले भने ।

फुङ्सोको प्रतिक्रियापछि सामाजिक सञ्जालमार्फत् नै उनकी आमा मञ्जुको सम्पर्क नम्बर पाए । त्यसपछि फुङ्सोकै इच्छाअनुसार प्रत्यक्ष गीत सुनाउने व्यवस्था मिलाइयो । सोमबार बिहान सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ, गीतकार मीना सिङ्गक, निर्देशक तथा छायाँकार भूपेन्द्र तुम्बाहाङ्फेसहित एकदेव धरान–१३ फुस्रेको भित्तामा रहेको फुङ्सोको घरमा पुगे ।

त्यहीँ पुगेर माइकबाट एकदेवले उनलाई मन पर्ने तीन गीत सुनाए । उनका ‘तिम्रो मुटुमा’, ‘शिरफूल’ र ‘सिउँदोमा सिन्दुर’ गीत सुन्दा फुङ्सो पनि निक्कै खुसी भइन् । एकदेवले उनका लागि एउटा घडी उपहार दिए । उनले खुसी हुँदै भनिन्, ‘थ्याङ्क यु..।’

उनकी आमा मञ्जुका अनुसार फुङ्सो सानैदेखि शारीरिक अशक्त छिन् । उनले विद्यालय शिक्षा त पढेकी छैनन् तर, घरमै सिकेको ज्ञानले मोबाइलमा फेसबुक चलाउँछिन् र युट्युबमा गीतहरू हेर्छिन् । एकदेवका सबै गीतहरू उनले मन पराउने आमा मञ्जुको भनाइ छ ।

फुङ्सोलाई गीत सुनाउन अहिलेको पुस्ताका चर्चित गायक घरमै पुगेपछि उनका छिमेकीहरू पनि जम्मा भएका थिए । घरमै पुगेका एकदेव र उनको टिमलाई फूल र अबिरले स्थानीयले स्वागत गरे । अनि एकदेवका गीतमा रमाए । आफ्नी छोरीका लागि एकदेवले गाइरहँदा आमा मञ्जुका भने आँखा रसाए ।

उनी आँशु लुकाउँदै हाँस्ने कोशिस गरिरहेकी थिइन् । उनको आँखामा आँशु देखेका छिमेकीहरूका पनि आँखा रसाए । मञ्जुले भनिन्, ‘घरमै आएर गाइदिँदा एकदमै खुसी लाग्यो । छोरीका लागि यो सबैभन्दा खुसीको क्षण हो ।’

युवापुस्तामाझ चर्चित गायक एकदेव पनि फुङ्सोलाई गीत सुनाउन पाउँदा खुसी छन् । उनी भन्छन्, ‘यो मेरो पनि एकदमै खुसीको क्षण हो ।’

ekdev123