धरान । मार्सी बियर मिस टुरिजम ब्युटी अफ नेपालको ताज सुनसरीकी आयुशा बस्नेतले पहिरिएकी छन् ।

धरान–८ स्थित वराह ग्रुपको सभाहलमा सोमबार राति सम्पन्न प्रतियोगितामा विजेता बनेकी बस्नेतले नगद १ लाख रुपैयाँसहित विभिन्न प्याकेज प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप झापाकी भावना खनाल बनिन् भने सेकेण्ड रनरअप मोरङकी सविना पोद्दार बनिन् । उनीहरूले क्रमशः नगद ७५ हजार र ५० हजार रुपैयाँसहित टुर प्याकेज प्राप्त गरेका छन् । विजेताहरूलाई काठमाडौंको गीता एबुलेसनबाट तीन महिनाको निःशुल्क एयर होस्टेजको तालिम प्राप्त गरेको आयोजक सहारा इण्टरटेन्मेण्टका प्रमुख व्यवस्थापक सौगात रिजालले जानकारी दिए ।

प्रतियोगितामा टाइटलतर्फ मिस फेण्डसिप र क्याटवक तृषा लिम्बूले जित्दा मिस ट्यालेण्ट विन्जु राजधामी, मिस फोटोजेनिक निकिता धमला, मिस क्वीन अफ पिपुल्स च्वाइस सुप्रिया राईले जितेका छन् ।

त्यस्तै मिस लेडी अफ ब्रिलिएन्सी, मिस चार्मिङ निलम श्रेष्ठ, मिस पर्सनालिटी एलिना राई र मिस ग्ल्यामर्स लुक तेजमाया तामाङले जितेका छन् । प्रतियोगिताको फाइनलमा १५ जना युवतीहरूले प्रतिस्पर्धा गरेका थिए ।

झापा, इलाम, भोजपुर, सुनसरी र मोरङबाट प्रतिस्पर्धी सहभागी रहेका थिए । सौर्य एयरलाइन्सका सिनियर क्याप्टेन अनुप थापा प्रतियोगिताको प्रमुख निर्णायक रहेका थिए ।

दुई महिनाअघि सम्पन्न अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई २५ दिनसम्म बन्द प्रशिक्षणमा राखिएको थियो । प्रतियोगिताको कोरियोग्राफर सिम्रन श्रेष्ठ रहेकी थिइन् ।