धनकुटा । जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह (एमएस) थापा मगरलाई जनमुक्ति रत्न उपाधिबाट सम्मानित गरिएको छ ।
पार्टीको छैठौं महाधिवेशनको सन्दर्भ पारेर सोमबार धरानमा उनलाई जनमुक्ति रत्न उपाधिबाट विभूषित गरिएको हो ।
नेपालमा सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, स्वशासन, पहिचान र समावेशिताको मुद्दालाई स्थापित गराउन उच्च योगदान दिएको भन्दै पार्टीले सम्मान प्रदान गरेको हो । अध्यक्ष केपी पालुङ्वा र महासचिव केशव सुर्यवंशीले प्रमाण–पत्रद्वारा सम्मान गरेका हुन् । स्याङ्जा जिल्लाको गछौंट, कारिकोटमा २००० साल माघ २७ गते बुबा कुलबहादुर थापा र आमा रमादेवी थापा मगरको कोखबाट जन्मिएका थापालाई महाधिवेशनको बन्द सत्रको क्रममा सम्मानित गरिएको हो ।
पार्टीलाई स्थापनाकालदेखि हालसम्म अतुलनीय योगदान गरेको भन्दै अर्का संस्थापक सदस्य एवम् पार्टी अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक वरिष्ठ नेता रामबहादुर तुम्वाहाम्फेलाई पनि सम्मानित गरिएको छ । पार्टीको विभिन्न तह र तप्कामा रहेर पार्टीको नीति, विचार र सिद्धान्तलाई शिरोधार्य गरेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पनि प्रमाण–पत्र प्रदान गरिएको छ ।
सम्मानित हुनेहरूमा झापा दमकका गजेन्द्र माखिम, जनमुक्ति धरान नगर समितिका अध्यक्ष चित्रहाङ मगर, स्याङ्जा जिल्लाका कृष्णबहादुर नेपाली, सुनसरीबाट डा. योगेन्द्र पालुङ्वा, मोहन श्रेष्ठ, प्रदीप नोयुङ, सीताराम राई, धनकुटाबाट लोक आङ्ला, तनहुँका पूर्णसिंह गुरुङ, कपिलवस्तुका नरेन्द्र थारू, शुक्ल गण्डकी नगरपालिकाका भीमकुमार मगर, गोर्खाबाट ओमबहादुर थापा रहेका छन् ।
बन्द सत्रमा पार्टीको सङ्घीय परिषद्बाट प्रस्तुत ८० पृष्ठ लामो राजनीतिक दस्तावेज दुई दिनको बहस र छलफलपछि पारित गरिएको पार्टीका उपमहासचिव टोप अस्लामीले बताए । त्यसैगरी पार्टीको विधानको छैठौं संशोधनसम्बन्धी प्रस्तावहरू पनि पूर्ण रूपमा प्रतिनिधिहरूबाट पारित गरिएको पार्टीका उप–महासचिव रामु परियारले बताए ।
पार्टीको राजनीतिक दस्तावेज र संशोधित विधान पारित भएसँगै आगामी नयाँ नेतृत्व चयनका लागि बाटो खुलेको छ । नयाँ विधानअनुसार एक अध्यक्ष, एक कार्यकारी अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक महिलासहित विभिन्न क्लष्टरबाट ५ जना, दुईजना महासचिव, एक महिलासहित तीनजना उप–महासचिव रहने व्यवस्था गरिएको महासचिव केशव सूर्यवंशीले जानकारी दिए ।
त्यस्तै सचिव खुला २, (१ महिला सहित ५ जना) र कोषाध्यक्ष १ जना गरी २१ जनाको पदाधिकारी चयन गर्ने गरी नयाँ विधान संशोधन गरिएको छ । त्यसैगरी प्रत्यक्षतर्फ सङ््घीय सदस्य खुला २२ जना र १२ जना महिलासहित जम्मा ५५ जना हाउसबाट निर्वाचित हुने जनाइएको छ ।
हाउसबाट निर्वाचित समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना सङ्घीय सदस्य मनोनयन गरी जम्मा ३१ सङ्घीय समितिका पदाधिकारी र ५४ जना सदस्य गरी जम्मा ८५ सदस्यीय सङ्घीय समिति रहने व्यवस्था भएको पार्टी विधान मस्यौदा समितिका संयोजक रामु परियारले जानकारी दिए ।