धरान  / धरानको नाट्य संस्था थिएटर सहारा २६ वर्षमा प्रवेश गरेको छ । 

२०५२ सालमा स्थापना भएको सहाराले शनिबार २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा सहाराको प्रस्तुतिमा नविन मेन्याङ्वोले निर्माण गरेको लघु चलचित्र ‘द रेडमुन’ प्रदर्शन गरियो । माओवादी द्वन्द्व कथामा आधारित ‘द रेडमुन’ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘वेस्ट नेसनल डिरेन्टर अफ फोटोग्राफी’ अवार्ड पाएको थियो । रविन श्रेष्ठकाे निर्देशनमा बनेको ‘द रेडमुन’मा प्रेम सुब्बा, सुजाता राई, तुलसा थापा, विजय लिम्बु, हिमाल दाहाल लगायतले अभिनय गरेका छन् । 

वार्षिकोत्सवकै अवसरमा सहाराले सञ्चालन गरेको स्कुल थिएटरका प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण ग¥यो । कार्यक्रममा सहाराका कलाकार समिर बराईलीले छोटो एकल मुक नाटक प्रदर्शन गरे । कार्यक्रममा सहाराका अध्यक्ष नविन मेन्याङ्वोले आगामी दिनमा दुई लघु चलचित्र निर्माण गर्ने घोषणा समेत गरे ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण प्रधानले धरान कलाकारितामा अगाडि रहेपनि राज्यले हेला गरेको आरोप लगाए । उनले धरानमा सात करोड भन्दा बढी लागत लाग्ने गरी नाटकघर निर्माण सुरु भएपनि धरान उपमहानगरपालिकाले बजेटमा प्राथमिकता नदिएको बताए । उनले भने, ‘पहिलो १८ लाख छुट्याईयो, अहिले त त्यो पनि बजेटमा समेट्नै बिर्सिएछ । यसैबाट कति प्राथमिकता दिइएको छ भन्ने प्रष्ट हुन्छ ।’ 

कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले धराने रङ्गकर्मको विकासका लागि व्यवायिकता र एकता आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘धरानको रङ्गकर्म टिम स्पिरिट नभएका कारण पछि परेको छ । उपमहानगरपालिकाले पहिला पनि नाटकघर निर्माणका लागि जग्गा दिएको हो तर बनेन ।’ उनले हाल बन्दै गरेको नाटकघरका लागि भने आफुले सक्दो पहल गरेको बताईन् । कार्यक्रममा कलाकार पुष्प श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।