विजयपुर/ नेकपा (एमाले)मा रहेका १० जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जाने निर्णय गरेसँगै प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउनेमा आशङ्का बढेको छ ।

दश प्रदेशसभा सदस्यले एमालेमा नफर्किने औपचारिक निर्णय गरेपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने सम्भावना क्षीण बन्दै गएको हो ।

प्रदेश १ मा जम्मा ९३ जना सांसद् छन् । जसमा एमाले ५२ जना, काङ्ग्रेसका २१ जना, माओवादी केन्द्रका १५ जना र जनता समाजवादी पार्टीका ३ र राप्रपा र सङ्घीय लोकतान्त्रिकका एक–एक जना छन् । एमालेका ५२ जनामा एकजना फौजदारी अभियोगमा फरार रहेका छन् । एक जना सभामुख छन् । बहुमतका लागि ४७ जना प्रदेश सांसद् आवश्यक हुन्छ ।

एमालेमा रहँदा माधवकुमार नेपाल समूहमा रहेका १० जना सांसद्हरू एकीकृत समाजवादी पार्टीमा जाने निर्णय गरेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले बताए । उनका अनुसार उनीसहित राजेन्द्र राई, राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नयाँ दलमा जाने निर्णय गरेका छन् ।

उनले अहिले १० जनाले औपचारिक निर्णय गरेको र अन्य ३–४ जना पनि थपिने बताए । ‘लोभीपापी, स्वार्थी गइसके, राजनीतिमा लामो इतिहास बोकेका माननीयहरू हुनुहुन्छ, त्यसैले घट्ने होइन, अन्य तीन–चार जना बढ्छन्’ उनले भने, ‘तीन–चार जनासँग कुरा भइरहेको छ, हामीले आउनू भनेका छैनौँ, आफै आउने भनिरहनुभएको छ ।’

उनले दश जनासँगै अन्य तीन–चार जना निर्वाचन आयोगमा सनाखतमा आउने दाबी गरे । उनले राजेन्द्रकुमार राईको नेतृत्वमा नयाँ सरकार बन्ने दाबीसमेत गरे । ‘निर्वाचन आयोगमा एक हप्तासम्ममा सनाखत हुन्छ, त्यसपछि नयाँ सरकारको समीकरण सुरु हुन्छ’–उनले भने ।

उनले समाजवादीमा जाने प्रदेशसभा सदस्यहरू  सतिसाल जस्तो उभिएको तर, भीमप्रसाद आचार्य एकल निर्णयबाट अघि बढेको बताउँदै भने, ‘उहाँमा ओली प्रवृत्ति देखियो, हामी ओली प्रवृत्तिको विरुद्धमा छौँ ।’ आचार्य परिवर्तन भएर आएमा छलफल गरेर अघि बढ्ने पनि उनले बताए ।

प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले  प्रदेशका १० सांसद् एकीकृत समाजवादीमा रहेको र थप ३ जना आउने निश्चित भएको दाबी गरे । उनले भने, ‘तीन जना आउने निश्चित भएको छ, ५ जना दोधारमा हुनुहुन्छ ।’ उनले एमालेमा राख्नका लागि केन्द्रीय नेताहरूबाट सबै सांसद्लाई मन्त्रीको अफर आइरहेको बताए । राईले नवनियुक्त मुख्यमन्त्री  आचार्यले विश्वासको मत नपाउने दाबी गरे । उनले भने, ‘विश्वासको मत नपाउने ग्यारेण्टी नै छ ।’ उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व एकीकृत समाजवादीले गर्ने दाबी गरे ।

उनले माओवादी केन्द्रले ३ वटा र  जनता समाजवादी पार्टीले एउटा, नेपाली काङ्ग्रेसले सङ्घीय सरकारसहित एउटा प्रदेश सरकारको नेतृत्व गरेकाले प्रदेश नं.१ मा उनीहरूले दाबी नगर्ने बताए ।

माओवादी केन्द्रमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई इतिहासका लागि मात्रै मुख्यमन्त्री बनेको आरोप लगाए । उनले मुख्यमन्त्री बन्नुभन्दा पहिले नै एमाले विभाजन भई प्रदेशसभाका ४ जना सदस्य एकीकृत समाजवादीमा गएको थाहा पाउँदा पाउँदै अल्पमतको सरकारमा सपथ लिएको बताए । उनले मुख्यमन्त्रीको नियुक्तिमाथि नै पनि प्रश्न उठाएका छन् । उनले भने, ‘पार्टी फुटेको अवस्थामा दल रोज्ने समयावधि नदिनु संविधान विपरीत हो, साथै ५० जना सांसद्मा २४ जना मात्रै सांसद्को उपस्थितिमा संसदीय दलको नेता छनौट गर्नु राजनीतिक दल ऐन विपरीत भएको छ ।’

मङ्गलबार निर्वाचन आयोगमा सनाखत भएपछि मुख्यमन्त्री आचार्यले बिदा लिनुपर्ने उनले बताए । उनले पनि एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताए । उनले गठबन्धनको सहमतिमा राजेन्द्रकुमार राईको नेतृत्वमा प्रदेश सरकार बन्ने बताए । उनले भने, ‘भीम आचार्य जत्तिको नेताले पदका लागि अपरिपक्व कदम चाले । यति धेरै आकाङ्क्षा छ भन्ने थिएन, सो निर्णयले लज्जाबोध भएको छ ।’

अर्का प्रदेश सांसद् राजन राईले १० जना प्रदेशसभा सदस्यसँग नियमित छलफल र सम्पर्क रहेकाले उनीहरू एमालेमा नफर्किने दाबी गरे । उनले १० जना मात्रै होइन, १५ जना एकीकृत समाजवादीमा आउने दाबी गरे । उनले भने, ‘मुख्यमन्त्रीले ४ जनालाई सपथ खुवाउने कार्यक्रम थियो, विवादकै कारणले २ जनालाई मात्रै सपथ खुवाउनुभयो ।’

उनले सरकार गठनका विषयमा अन्य दलसँग पनि छलफल भइरहेको बताउँदै एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने, ‘संविधानको रक्षाका लागि माधव नेपालले असाधारण त्याग गरेकाले एकीकृतको नेतृत्वमा सरकार बन्छ, मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्छौं ।’

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले एकीकृत समाजवादीको आधिकारिकता टुङ्गो लागेपछि अघि बढ्ने बताए । उनले गठबन्धनको छलफलबाट अघि बढ्ने बताए । केन्द्रीय नेताले पनि प्रदेशको अवस्था हेरेर निर्णय लिनुपर्ने उनको धारणा छ । उनलाई काङ्ग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले मुख्यमन्त्रीमा स्वभाविक रूपमा दाबी रहने बताए । उनले भने, ‘राजनीतिक परिस्थिति हेरेर अघि बढ्छौं, माधव नेपालको त्यागलाई पनि नकार्न सकिँदैन ।’

जनता समावादी पार्टी संसदीय दलका नेता जयराम यादवले ३० दिनभित्र विश्वासको मत दिनुपर्ने र विश्वासको मत प्राप्त नभएमा गठबन्धनको सरकार बन्ने बताए । उनले एकीकृत समाजवादी टुङ्गो लाग्ने बित्तिकै अघि बढ्ने बताए ।

नेकपा (एमाले)का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १७ गतेपछि मात्र को–को कता रहने र कता जाने भन्ने निश्चित हुने बताउँदै त्यसपछि मात्रै वास्तविक दृश्य देखिने बताए । उनले एमालेबाट एक–दुई जनाबाहेक एकीकृत समाजवादीमा नजाने दाबीसमेत गरे ।

उनले एमालेबाट एक–दुई जनाबाहेक एकीकृत समाजवादीमा नजाने दाबीसमेत गरे । उनले भने, ‘राजनीतिमा स्वार्थका लागि सेकण्डमा नै परिवर्तन हुन्छन्, यसै भन्न सकिँदैन ।’