प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले एमालेको बहुमत जोगाउने दाबी गर्दै आइरहेका छन् । उनले चाँडै मन्त्रीपरिषद विस्तार गर्ने बताएका छन् ।
‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरूसँग कुरा गर्छौं । र, आफ्नै संख्या बहुमत पनि पु¥याउँछौं,’ मुख्यमन्त्री आचार्यले भने ।
९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । यसै सन्दर्भमा प्रदेश १ का विपक्षी दलका नेताहरुसँग हामीले प्रदेश सरकारको भविष्यका बारे छोटो प्रक्रिया लिएका छौं ।

केदार कार्की ,नेपाली कांग्रेस मुख्य सचेतक
प्रदेश सरकारको अबको भविष्य कता जाने भन्ने कुरा नेकपा एकीकृत समाजवादीको स्टेपले थाहा होला । तर मुख्यमन्त्री परिवर्तनको कुरा चाहिं केटाकेटीले सानामा गट्टी खेल्थे । एमालेले गट्टी खेलेजस्तो एउटा खेल खेल्यो । त्यो चाहिं केटाकेटीले खेल्ने खेल । संविधानको हिसाबले, ‘म्याचर्ड’ हिसाबले मुख्यमन्त्री नियुक्ति भएको होइन । लिने दिने हुन्छ ? मुख्यमन्त्री भन्ने कुरा ? एक हातले लिने, एक हातले दिने हुन्छ ? प्रदेश प्रमुखले ?
त्यसको त समय हुन्छ । आह्वान गरिन्छ । रित पुर्याएर ल्याऊ भनिन्छ । प्रदेश प्रमुखले म हिंड्ने बेला भयो भन्ने बुझ्नु भयो । हिंड्ने बेलामा कोसेली दिइन्छ नि, केटाकेटीलाई चाचा किन, पापा खाऊ भनेर मुख्यमन्त्रीलाई दिएको कोसेली हो ।
अहिलेको मुख्यमन्त्रीको कुनै भर पनि छैन, ड्युरेसन पनि छैन । रहर पूरा गर्नु भयो ‘भीम कामरेड’ले ।

उमिता विश्वकर्मा, नेता, नेकपा माओवादी केन्द्र
सत्तासिन नेकपा एमाले औपचारिक रुपमै विभाजित भएको छ । प्रदेशमा केही सांसदहरु नयाँ पार्टीमा आबद्ध हुने कुराहरु बुझिएको छ । तर त्यसलाई मत्तथर पार्नका लागि नेकपा एमालेले एकजना पात्रलाई परिवर्तन गरेको छ ।
उहाँहरुको भनाइ मुख्यमन्त्री परिवर्तन हुँदा प्रदेशमा पार्टी एकता हुन्छ भन्ने छ । तर हेर्दा त्यस्तो देखिंदैन । अहिलेका मुख्यमन्त्री माननीय भीमप्रसाद आचार्य निश्चित रुपमा अल्पमतमा पर्ने देखिन्छ । १० जना सांसदहरु अहिले नेकपा एकीकृत समाजवादीमा खुलेर लाग्नु भएको छ । ५० जनामा ५ जनामात्रै नयाँ पार्टीमा जाने हो भने यो सरकार ढल्छ । विश्वासको मत पाउने देखिंदैन । त्यसो हुँदा गठबन्धनकै सरकार बन्छ ।

जयराम यादव, नेता, जसपा
हिजो मुख्यमन्त्री बनेका छन् भीम आचार्य, यो स्वभाविक प्रक्रिया हो । प्रदेश १ मा वर्तमान नेकपा एमालेकै सरकार हिजोसम्म पनि रहिरहेको अवस्थामा, सबैभन्दा ठूलो दलका हिसाबले, माननीय सदस्यको संख्या पनि ५० को अवस्थामा रहेकाले एमालेले आफ्नो संसदीय दलको नेता हेरफेर गरेर नयाँ मुख्यमन्त्रीलाई सपथ ग्रहण गराएको छ ।
संविधानतः बनेको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उहाँले विश्वासको मत प्राप्त गर्नु भयो भने सरकारले निरन्तरता पाउँछ । विश्वासको मत पाउनु भएन भने अर्को विकल्पमा जान्छ ।
माधव नेपाल र केपी ओलीको बीचमा दल विभाजन भएको छ । माधव नेपालको पक्षतिर कति जना माननीयहरु अलग्गिने हुन् उहाँहरुको संख्यालाई हेरेर मात्रै भन्न सकिन्छ । जबसम्म माधव नेपालका पक्षमा एकीकृत समाजवादीतिर कति जना माननीय सदस्यहरुले सिग्नेचर गर्ने हो त्यसैमा यो सरकारको भविष्य निर्धारण गर्छ ।
ठ्याक्कै यकिन संख्या हामी भन्न सक्दैनौं । सुनेको कुरा चाहिं १० देखि १५ जना प्रदेश सभा सदस्य माधव नेपालका पक्षमा हुनुहुन्छ । सरकार गुल्टिनलाई त पाँच–सात जनै काफी छ । त्यसैले यो सरकारको भविष्य देखेको छैन ।
हामी विपक्षी दल एक गठबन्धनमा छौं । हामी सरकार चलाइरहेको केपी ओलीको पक्षमा छैनौं । हाम्रो प्रष्टै छ ।
































