धरान । धरानमा लकडाउन गर्ने विषयमा सोमबार सम्पन्न सर्वपक्षीय छलफलमा व्यवसायी र राजनीतिक दल फरक फरक कित्तामा उभिएका छन् ।
व्यवसायी तत्काल बन्द नगर्ने पक्षमा उभिँदा राजनीतिक दल भने बन्द गरेर जानुपर्ने पक्षमा अडान लिए तर नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा लकडाउन गर्नुपर्ने अवस्था नभएको भन्दै फरक मत राखेको छ ।
जिल्लास्थित कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सहितको बैठकबाट फरक फरक मत आएपश्चात् ‘कार्यपालिकाको निर्णयलाई आधार’ मानेर बन्दाबन्दीको कदम चाल्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितको बैठकबाट निष्कर्षमा पुग्न नसकेपछि कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरी जिल्लाले सुनसरीमा सात दिने निषेधाज्ञालाई थप गरेको छ ।
अहिले सुनसरीमा स्मार्ट लकडाउन जारी छ । वैशाख १७ गतेयता सुनसरीमा लकडाउन जारी रहेको हो तर बिचदेखि लकडाउनलाई स्मार्ट बनाइएको थियो । साउनको दोस्रो साता धरानका ११ वटा राजनीतिक दलहरूले एक विज्ञप्ति प्रकाशित गर्दै नगर प्रमुख तिलक राईलाई ‘कडा लकडाउन गर्न’ ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापन पत्रपश्चात् नै नगर प्रमुख राईसहित धरान उपमहानगरपालिका लकडाउन गर्ने मनस्थितिमा थियो । तर व्यवसायी भने फरक मत राख्दै आएका छन् ।
यातायात व्यवसायी सरोज श्रेष्ठले झापामा १० दिनदेखि लकडाउन भए पनि संक्रमितको संख्या नघट्नुले कहाँ कमजोरी भएको छ त्यो खोजी गर्नुपर्ने बताए । उनले बन्दको सट्टा सामाजिक दूरी, मास्क, सेनिटाइजरलाई कडासँग पालना गर्ने र जरिबानाको व्यवस्था गर्नेतिर लाग्नुपर्ने सुझाव दिए । ज्ञापन पत्र बुझाउनेमध्ये नेकपा माओवादी केन्द्रले सोमबार फरक मत राखेपछि राजनीतिक दलको मत पनि बाझिएको छ ।
माओवादी केन्द्रका धरान नगर सचिव सुदर्शन श्रेष्ठले पछिल्लो अवस्थाले लकडाउन गर्न जरुरी नभएको र स्वास्थ्य मापदण्ड लागू गरेर निर्णयमा पुग्नुपर्ने बताए । सोमबार धरानमा ५५ जना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लकडाउन अर्थात् वैशाख १७ पछि गरिएको लकडाउनका बेला धरानमा एकैदिनमा ८२ जनासम्म संक्रमित भेटिएका थिए ।
जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले पनि धरानमा आजकै अवस्थामा लकडाउन गरिहाल्नुपर्ने अवस्था नभएको दाबी गरे । सरकारले लकडाउन गर्नका लागि पाँचवटा सूचक तयार गरेको छ । त्योआधारमा धरानमा दुईवटा सूचक खतरापूर्ण अवस्थामा छन् भने अन्य सूचकको अवस्था सामान्य रहेकाले तत्काल गरिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।
पर्यटन व्यवसायी वासुदेव बरालले मास्क, स्वास्थ्य प्रोटोकल अपनाउन आग्रह गरे । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियन्त्रित रूपमा बिरामीको चाप रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि छलफल अगाडि बढाउन जरुरी रहेको बताए ।
सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटाले कोरोना भएका मानिसहरूको अवस्था के छ त्यसको जाँच गर्ने संयन्त्र बनाइनु पर्ने बताए । विगतमा भएका कमीकमजोरीलाई खुट्याउँदै मास्क, सेनिटाइजर तथा दूरी कायम गर्ने विषयमा व्यवसायीहरूलाई सजग गराउन जरुरी रहेको बताए ।
सोमबार बसेको डीसीसीएमसीको बैठकले भदौ १ गतेबाट लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । धरान र इटहरीको हकमा जुनसुकै बेला पनि लकडाउन हुन सक्ने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहको निर्णयका आधारमा डीसीसीएमसी अगाडि बढ्ने जनाइएको छ ।