सुनसरी । केही वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने २–४ सय रुपैयाँँका लागि श्रीमान्को भर पर्ने कोशी गाउँपालिका–४ जुद्धगञ्जकी कुलसुम खातुनले अहिले २–४ हजारका लागि कसैसँग हात थाप्नुपरेको छैन । गाउँमै व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि आजभोलि कुलसुमले नै  श्रीमान्लाई पैसा दिने गरेकी छन् ।

आफ्नै जग्गामा गरिएको व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीबाट उनले घरपरिवार चलाउन सहयोगमात्रै गरेकी छैनन्, बचतसमेत गर्दै आएकी छन् । परम्परागत खेतीबाट जीवन निर्वाह नभएर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउने कुलसुम तरकारी खेतीबाट वार्षिक २ देखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको बताउँछिन् ।

‘श्रीमान् बेरोजगार हुँदा पहिला घरपरिवार चलाउन निकै समस्या हुने गथ्र्यो, सोही कारण हामीबीच दिनहुँजसो झगडा हुन्थ्यो’ उनले भनिन्, ‘तर, आजभोलि दुवैजनाले कमाउन थालेपछि परिवार चलाउन सहज भएको छ ।’ मिलेर व्यावसायिक तरकारी खेती सुरु गरेदेखि घरपरिवार चलाउन सहज भएको बताउँदै कुलसुमका श्रीमान् जाबिर मन्सुरीले खुसी मुद्रामा भने, ‘मिलेर मेहनत गर्दा आजभोलि झगडा होइन, परिवारमा खुसीयाली छाएको छ ।’

आफ्नै पहल र प्रयासमा उनीहरूले उत्पादन गरेको तरकारी कोशी गाउँपालिका कटानस्थित राजमार्ग क्षेत्रमा बेच्ने गर्दछन् । ताजा तरकारी भन्दै यात्रा गर्ने यात्रुहरूले सवारीसाधन रोकेर उनीहरूले उत्पादन गरेको तरकारी किन्ने गरेका छन् ।

यसरी व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीवनस्तर उकास्ने कुलसुम मात्र होइनन्, उनीजस्ता कोशी गाउँपालिका क्षेत्रका दुई दर्जनबढी महिलाले आयआर्जनका लागि तरकारी खेती नै रोजेका छन् । कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जकी सलिया बानो तरकारी खेतीबाटै जीविकोपार्जन गर्ने अर्की महिला हुन् ।

व्यावसायिक तरकारी खेतीबाट आफू आत्मनिर्भर बन्न सफल भएको बताउँदै उनले तरकारी खेतीबाट आएको आम्दानीले परिवारको खर्च टार्न र बचत गर्न सफल भएको बताइन् । तरकारी खेतीले यहाँका महिलाहरूलाई स्वरोजगार बन्न सहयोग पु¥याउनुका साथै त्यसबाट प्राप्त आम्दानीले घरपरिवार चलाउन र सहकारी संस्थामा पैसा बचत गर्न सफल भएका छन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय कोशी गाउँपालिका–१, २, ४, ५, ७ र ८ क्षेत्रका महिलाहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यस भेगमा उत्पादित तरकारी सुनसरी सदरमुकाम इनरुवादेखि काठमाडौंको बजारसम्म पठाउने गरिएको स्थानीय बताउँछन् ।

मौसमी तथा बेमौसमी तरकारी खेतीबाट महिलाहरूको आयस्तर बढाएर उनीहरूलाई स्वरोजगार बनाउन आफू लागिपरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । बालुवामय जग्गामा कुन कुन तरकारी उत्पादन गर्न सकिन्छ भन्ने बारेमा आफूहरूले गरेको भारत भ्रमण निकै फलदायी भएको बताउँदै अन्सारीले सोहीअनुसार तरकारी खेती गर्दा कोशी क्षेत्रका महिलाहरू आत्मनिर्भर बन्दै गएको बताए । व्यावसायिक तरकारी खेतीमा सक्रिय महिलाहरूलाई आवश्यक तालिम, मल, उन्नत जातका बिउ लगायत प्राविधिक सहयोग गरिँदै आएको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए ।