सुनसरी रामधुनी नगरपालिका वडानम्बर ५ की १९ वर्षीया रञ्जिता चौधरी घर बनाउने महिला मिस्त्री भएकी छन् । लेबर काम गर्दागर्दै उनी घर बनाउने मिस्त्री बनिन् । सुरुमा काम गर्दा पुरुष मिस्त्री मात्र थिए । महिलाले घर बनाउन सक्दैनन् कि जस्तो लागेको थियो । तर, उनले हात हालिन् त आत्म विश्वास बढेर आयो । कक्षा १० फेल भएपछि लेबर काम सुरु गरेकी उनी अहिले पुरुषसरह घर निर्माणमा काम गर्छिन् ।

एक वर्षको मात्र ज्ञान भएको कारण उनले अहिले दैनिक ८ सय रुपैयाँ कमाउँछिन् । ‘महिलाले मिस्त्री काम गर्नुहुँदैन भनेर कहाँ लेखेको छ र ?’ उनी भन्छिन्,‘पुरुषले गर्ने हर काम महिलाले पनि गर्न सक्ने रहेछन् ।’ हातमा सीप भएपछि कामको कुनै कमी नहुने उनले बताइन् । ‘हातमा सीप भयो भने दुई–चार रुपैयाँको अभाव हुँदैन’–उनले भनिन्, ‘काम गर्ने जाँगर हुनुप¥यो, हातमुख जोड्न दुःख हुँदैन ।’

लेबरको दैनिक ६ सय रुपैयाँ छ । हातमा सीप भएका कारण उनको ज्यालामा दुई सय रुपैयाँ बढी छ । इटहरीका चर्चित व्यवसायी शङ्कर अग्रवालको घर निर्माण गर्दै भेटिएको चौधरी एक्ली महिला मिस्त्री भने होइनन् । उनीजस्तै केही वर्षयता अरू युवतीहरूले पनि घर बनाउन हेल्पर मात्र होइन, मिस्त्रीको काम गरेर पुरुष बराबर दैनिक ज्याला लिने गरेका छन् ।

रामधुनी नगरपालिका वडानम्बर २ कुमाई टोलकी प्रमिला चौधरीले पनि मिस्त्रीको काम सिकेर पुरुष बराबर ज्याला लिने गरेकी छन् । अहिले दैनिक एक हजार रुपैयाँ कमाउने भएपछि उनी काममा अझै मिहिनेत गर्छिन् । ठेकेदारले महिला पुरुष मिस्त्रीलाई बराबर दैनिक एक हजार रुपैयाँ ज्याला दिन्छन् । काम नियमित पाउने भएकोले ठेकेदारमार्फत् काम गर्दा उपयुक्त हुने चौधरीले बताइन् ।


इटहरीका घरनिर्माण ठेकेदार सुगेलाल चौधरी भन्छन्, ‘महिलाहरूलाई  जिम्मा दियो भने पुरुषले भन्दा राम्रो काम गर्ने गरेका छन् । म त महिलाहरूलाई पनि घर निर्माणमा गारो लगाउने, प्लास्टर गर्ने कामको जिम्मा दिने गर्छु, महिलाहरूलाई काममा पुरुषहरूभन्दा राम्रो र धेरै काम पनि गर्छन् ।’ 

त्यस्तै इटहरी–१६ की २० वर्षीया सुस्मिता चौधरी पनि महिला मिस्त्री हुन् । लेबर गर्दागर्दै आफू पनि मिस्त्री बनेको उनको भनाइ छ । ‘छोरामान्छेभन्दा म केहीमा कम छैन’–उनले हाँस्दै भनिन् । ‘नेपालमा कामलाई सानो भनेर हेला गर्ने चलनले यस्तै काम गर्न दाजुभाइ, दिदीबहिनीहरू विदेश जाने गरेका छन्’ उनले भनिन, ‘म घरको प्लास्टरको काम पनि गर्छु । गारो लगाउने, प्लास्टर गर्ने भएकोले कामको कुनै अभाव हुँदैन । विदेशमा काम गर्न जाँदा परिवारसँग टाढिनु पर्छ । देश छाडेर जाँदा महिलाले दुव्र्यवहार पनि बेहोर्नुपर्छ ।’

इटहरीका घरनिर्माण ठेकेदार सुगेलाल चौधरी भन्छन्, ‘महिलाहरूलाई  जिम्मा दियो भने पुरुषले भन्दा राम्रो काम गर्ने गरेका छन् । म त महिलाहरूलाई पनि घर निर्माणमा गारो लगाउने, प्लास्टर गर्ने कामको जिम्मा दिने गर्छु, महिलाहरूलाई काममा पुरुषहरूभन्दा राम्रो र धेरै काम पनि गर्छन् ।’ उनका अनुसार पछिल्लो समयमा निर्माणको काममा महिला मिस्त्रीको सङ्ख्या बढ्न थालेको छ । घर बनाउने काममा लेबरको रूपमा मात्रै महिला जिम्मेवारी दिइन्थ्यो । तर, अहिले मिस्त्रीको रूपमा महिलालाई कामको जिम्मेवारी दिन थालिएको छ ।

घर निर्माणमा महिलाहरू पनि दक्ष देखिएको बताउँछन् , व्यवसायी शङ्कर अग्रवाल । आफ्नो घरमा मिस्त्रीको रूपमा महिलाहरूले काम गर्दा बिग्रन्छ कि भन्ने लागेको थियो, उनलाई । तर, अहिले महिलाहरूको काम गराइ देखेर उनी ढुक्क छन् । महिलाहरूले पनि पुरुषहरूले जस्तै काम गरेको उनको भोगाइ छ । अहिले पनि महिला मिस्त्रीहरू उनको निर्माणाधीन घरमा काम गरिरहेका हुन्छन् ।

कामको खोजीमा धेरै नेपाली दिदीबहिनी विदेश गएका छन् । राम्रो काम पाइने प्रलोभनमा परेर विदेश गएका धेरै दिदीबहिनीले रोजगारका क्रममा कठिन जीवन बाँच्न बाध्य भएका समाचार आइरहेका छन् । नेपालमा रोजगारी पाइँदैन भन्दै भनेर विदेश जानेहरूका लागि यी महिला मिस्त्री उदाहरण बन्न सक्छन् । महिलाले मिस्त्री काम गर्न सक्दैनन् भन्ने भ्रम तोड्दै महिलाले अवसर पायो भने जुनसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण देखाएका छन् ।