deep sresthaधरान । कोरोनासंक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्य अवश्थामा सुधार आएको छ । उनी खतरामुक्त रहेपनि काठमाडौंको ह्याम्प अस्पतालको आईसियुमै उपचाररत छन् । ब्लाष्टसँगको च्याट सम्बादमा उनले भने, ‘अझै आईसियुमै छु, भोलि क्याबिनमा लैजान्छन् कि ?, अझै दुईहप्ता अस्पताल बसाई होला जस्तो छ ।’

उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्या आएपछि जेठ १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । परिक्षणका क्रममा कोरोना संक्रमण भएको पाइएपछि आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । गायक श्रेष्ठ कोच रहेको भ्वाईस अफ नेपालका केही प्रतिष्र्धीलाई कोरोना संक्रमण भएपछि कार्यक्रमको छायाँकन नै बन्द गरिएको थियो । त्यसपछि घरमै बसेका श्रेष्ठलाई पनि संक्रमण भएको थियो । 

उनका सहकर्मीहरु भने वरिष्ठ गायक श्रेष्ठको गम्भीर अवश्थामा उपचार भईरहँदा पनि सरकार र नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानले कुनै चासो नदेखाएको गुनासो गर्छन् । उनका एक सहकर्मी भन्छन्, ‘प्रदेश १ सरकारका मुख्यमन्त्रीले त विभिन्न कार्यक्रममा वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने घोषणा गरेका थिए तर अहिलेसम्म सम्मान पनि गरिएन । बरु यस्तो बेला उपचारमा सहयोग गरे पनि हुने नि ।’