प्रदेश १ सरकारको संसद् बैठक आज डाकिएको छ ।
गत ७ माघबाट सुरु भएको हिउँदे अधिवेशनको आठौँ बैठक आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा मुख्यमन्त्रीले विशेष समय लिएर बोल्ने तयारी रहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि सातौँ हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।
यता प्रतिपक्षी दलले भने बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । प्रतिपक्षको अवरोधपछि बैठक बस्न सकिरहेको छैन ।
सोमबार बसेको सातौँ प्रदेशसभा बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए ।
चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर आयोजना रोकिएको विपक्षीको आरोप छ ।
जारी गतिरोध अन्त्यका लागि मुख्यमन्त्री शेरधन राईले गत सोमबार सर्वदलीय छलफल राखेका थिए । तर छलफल निष्कर्षविहीन भएको थियो ।
मुख्यमन्त्रीले सम्बोधन गर्न नपाउने अवस्था आए प्रक्रिया पुर्याएर बैठक स्थगित गरिने सरकारका प्रवक्ता मन्त्री कार्कीको भनाइ छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो ।
चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिए पनि प्रदेश सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन ।
गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभा बैठक तीन महिनाको अवधिमा जम्मा सात पटक बसेको छ । आज आठौं पटक बस्दैछ तर सत्ता पक्ष र प्रतिपक्षको अवरोधका कारण संसद्मा गतिरोध उत्पन्न भएको छ ।