काठमाडौं । पटकपटक संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध गरेपछि सभामुख महराले सर्वदलीय बैठक डाकेका छन् ।

सभामुख महराको यो बैठक संसद् अवरोध हटाउन निकास खोज्ने उद्देश्यमा केन्द्रित रहने बताइएको छ । प्रधानमन्त्री केपी ओलीसँग समेत परामर्श गरी बैठक डाकिएको बताइएको छ ।

संसदको अवरोध नहटेपछि सभामुख महराले बिहीबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित सभामुखको च्याम्बरमा पत्रकारहरूसँग कुराकानी गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए ।

‘सदनमा भएको अवरोधमा मिल्नै नसक्ने विषय छैन, सत्तापक्ष र प्रतिपक्ष थोरै लचिलो भए मिल्छ । महराले भने । सभामुख महराले सर्वदलीय बैठकपछि गतिरोध अन्त्य हुने विश्वास लिएको बताए ।