विपक्षी दलको अवरोध खुलाउनेबारे प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आयोजना गरेको बैठकमा सत्ता पक्षका नेताले विपक्षी दलले उठाएको कुरा सदनमा जवाफ दिने बताएका छन् ।
आइतबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्रीका तर्फबाट सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विपक्षीहरुले उठाएको विषयमा मुख्यमन्त्री गम्भीर रहेको बताए ।
विपक्षी दलले उठाएको कुरा मुख्यमन्त्रीले सदनमा जवाफ दिने मन्त्री कार्कीको भनाइ थियो ।
जारी गतिरोधका विषयमा सघाउन आफूहरु तयार रहेको विपक्षी दलका नेताले बताए । जनता समाजवादी पार्टीका नेता जयराम यादवले सरकारलाई गतिरोध टुङ्ग्याउने विषयमा सघाउन तयार रहेको बताए । उनले मुख्यमन्त्रीले संसद् र सर्वदलीय बैठक फेस गर्नुपर्ने बताए ।
‘हामी विपक्षी दलको एउटै स्वर रह्यो, मुख्यमन्त्रीसँग हाम्रो छलफल हुन पर्छ, आन्तरिक मामिला मन्त्रीले हाम्रो माग पूरा गर्न सक्छ र ?’ ब्लाष्टसँग कुराकानी गर्दै नेता यादवले भने, ‘मुख्यमन्त्री नआएपछि बैठक त्यत्तिकै भयो, फेरि मुख्यमन्त्रीलाई नै बोलाउने र छलफल गर्ने कुरो भएको छ ।’
सभामुख प्रदीपकुमार भण्डारीले आयोजना गरेको बैठकमा मुख्यमन्त्री शेरधन राई अनुपस्थित भए । मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको थियो ।
दुई दिनदेखि अवरुद्ध चल्न नसकिरहेको अवस्थामा प्रदेश सरकारको पहलकदमी नभएपछि सभामुखले ‘इनिसियसन’ लिएको सभामुख निकट स्रोतले बताएको छ । ‘बैठकमा दलका नेता सचेतक, मुख्यमन्त्रीलाई पनि बोलाइएको थियो, मुख्यमन्त्री आउनु भएन । मुख्यमन्त्री आफैं एमाले दलका नेता हुनुहुन्छ । दलका पदाधिकारी, सचेतक, उपनेताको समेत उपस्थिति रहेन ।’ ती नेताले भने, आन्तरिक मामिला मन्त्री हिकमत कार्की, एमाले पार्टीका तर्फबाट निलम बस्नेत आउनु भयो, प्रमुख सचेतक बुद्धिराज भण्डारी काम विशेषले काठमाडौं गएको खबर आयो ।’
चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर आयोजना रोकिएको विपक्षीको आरोप छ ।
सदन लगातार दुई दिन अवरुद्ध भइसकेको छ । भोलि चैत ३० का लागि प्रदेशसभा बैठक बोलाइएको छ ।