प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बोलाएको सर्वदलीय छलफल मुख्यमन्त्री कार्यालयमा जारी छ ।
प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्रीसहित दलका नेताहरुको उपस्थिति छ रहेको जनता समाजवादी पार्टीका नेता जयराम यादवले जानकारी दिए ।
प्रदेश १ गतिरोधको अन्त्यका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बैठक बोलाएका थिए । तर मुख्यमन्त्री बैठकमा उपस्थित भएनन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको उपस्थिति रहे पनि बैठक मुख्य छलफल नै नगरी टुंगिएको थियो । मुख्यमन्त्रीले प्रतिपक्षको जवाफ सदनमा दिने बताएका थिए । अहिले मुख्यमन्त्री राईले कार्यालयमा छलफल राखेका छन् ।
प्रदेश १ संसदको गतिरोध अन्त्य गर्ने विषयमा मुख्यमन्त्री राईले डाकेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको छैठौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरिरहेका थिए ।
सर्वदलीय छलफलमा मुख्यमन्त्री माग सम्बोधन गर्न सहमत भए प्रदेश सभामा अवरोध नगर्ने तयारी प्रतिपक्षको छ ।
चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर आयोजना रोकिएको विपक्षीको आरोप छ ।