पाँचथरको विभिन्न स्थानीय तहका नागरिक जग्गाको कारोबार गर्न सदरमुकासम्म धाउँदै आएका छन् । दुर्गम क्षेत्रका नागरिकले जग्गाको कारोबार गर्न समस्या झेल्दै आएका छन् । 

मालपोत कार्यालय पाँचथरले पहिलो पटक घुम्तिशिविरमार्फत् सेवा दिन थालेको छ । कार्यालयको आयोजना तथा गाउँपालिकाको समन्वयमा तुम्बेवा गाउँपालिकामा ७ दिने शिविर सम्पन्न भएको छ । 

शिविरमा जग्गा नामसारी, अंशबण्डालगायत विभिन्न समस्या भोग्दै आएका २ हजार गाउँपालिकावासी नागरिकलाई सेवा उपलब्ध गराएको छ । 

गत चैत्र २३ गतेदेखि सात दिनसम्म सञ्चालन भएको शिविरमा २ हजार नागरिकले सेवा लिएका हुन् । यस अघि जग्गाको कारोबार गर्न सदरमुकामसम्म धाउनु पर्ने बाध्यता थियो । समय र खर्चको पनि जोहो गर्नु पथ्र्यो । तर, गाउँपालिकामै मालपोत कार्यालयको सेवा पाएपछि खुसी लागेको तुम्बेवा २ का ७० वर्षीय रघुमान मगरले बताए । ‘मालपोतको कामको लागि ५ दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो, अहिले सदरमुकाम गाउँमै आयो, नामसारी गर्न पनि पाइयो ।’ हर्षित मुद्रामा मगरले सुनाए ।

गाउँपालिका केन्द्र मैवा बजारमा संचालन भएको घुम्तिशिविरबाट ५ वटा वडाका २ हजार नागरिकले सेवा लिएका छन् । शिविरमा धनीपूर्जा ३ सय, लिखित पारित ७२, नामसारी ८७, पुर्जा प्रतिलिपि ८५ र संसोधन ४९ गरी ५ सय ९८ जनाले प्रत्यक्ष सेवा लिएका छन् । त्यस्तै परामर्शसहितको सेवा २ हजारले पाएका थिए । अनलाइन प्रविधिबाट पहिलो पटक दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रवाह गरेको सेवाले नागरिकमा उत्साह देखिएको मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोख्रेलले बताए । 

‘हामीले अनलाईन प्रविधिमार्फत् जिल्लामैै पहिलो अभियान चलाएका छौं), पोख्रेलले भने, ‘महिनामा २ सय देखि ३ सय समस्या आउँथे, तर सात दिनमै सयौं समस्या भेटियो, शिविर संचालन प्रभावकारी भयो ।’  

लामो समयदेखि जग्गाको कारोबारमा समस्या भोग्दै आएका गाउँपालिकावासीलाई शिविरले राहत दिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिकामा भू–सेवा कार्यालय स्थापना गरिएको र थप परामर्श सेवा सोही कार्यालयबाट दिने गरी कर्मचारीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।