नेकपा एकता प्रारम्भिक रुपमा सतही भए पनि अन्तर्यमा भावनाको एकता हुन नसकेको गुनासाका बीच संसदीय खेल र विघटनले नेकपा एकता क्षतविक्षत बनायो । 

सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा ब्युँताइदिए पछि नेकपाभित्रका दोस्रो तहका नेता एकताको ‘स्पिरिट’मा काम गर्न थालेका छन् । यो गोप्य छलफल अब ‘एक्सपोज’ भएको छ । 

पहिले गुप्त ढंगले भइरहेका छलफल अहिले खुलारूपमा शुरू भएको ओली पक्षका नेता महेश बस्नेतले अभिव्यक्ति दिएका छन् । 

नेता बस्नेतले पार्टी एकता टुट्न हुँदैन भन्ने भावना दुवै पक्षमा रहेको र यो पंक्ति ठूलो रहेको स्पष्ट पारे । 

उनले अब यो छलफल ‘एक्सपोज’ भएको र छलफलको वातावरण बनिरहेको बताए । नेता बस्नेतले भने, ‘अहिले नै पार्टी एक भइहाल्ने अवस्था नआए पनि प्रधानमन्त्री कम्युनिष्टभन्दा बाहिर जान दिन नहुने कोणबाट कुरा मिलाउने प्रयत्न भइरहेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम पार्टीलाई एकताबद्ध बनाइराख्न दोस्रो तहका नेतामार्फत पहलकदमीमा लागेका छन् ।  

कोभिड–१९ विरुद्धको खोप लगाउन  नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘मेरो प्रयत्न केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने छ ।’

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने गौतमको भनाइ छ । प्रचण्ड र ओलीलाई एकै ठाउँमा ल्याउनका लागि उनीहरु वरपर बसेकाको घेराबन्दी तोडेर पहल गर्नुपर्ने उपाध्यक्ष गौतमले बताए । 

यसैबीच ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुसालबीच छलफल भएको छ । सिंहदरबारमा भएको छलफल पार्टी एकतामै केन्द्रित रहेको बताइएको छ । पार्टी एकता जोगाउने सिलसिलामा निरन्तर छलफल चलिरहेको नेता भुसालले प्रतिक्रिया दिए । 

नेकपा एकताको पक्षमा वामदेव गौतमसहित विष्णु पौडेल, वर्षमान पुन, शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेता निरन्तर लागेका छन् । तर यता प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ भने अझै पनि एकताको पक्षमा रहेको छाँट देखिंदैन । उनीहरुका अभिव्यक्ति एकता केन्द्रित छैनन् । 

नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।

यता प्रधानमन्त्री केपी ओली पक्षले भने कसैलाई पनि कारवाही गरेको छैन । पार्टीमा फर्किएर आउनेलाई स्वागत गर्ने भन्दै आएको छ । यद्यपि प्रमुख सचेतकमा भने देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रम ओलीले नियुक्त गरेका छन् ।