विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड–१९ अस्पतालको लापरबाहीका कारण बिरामीहरू समस्या परेका छन् । धेरै बिरामीहरूकोे लापरबाही कारण मृत्यु भएको आफन्तहरूले बताएका छन् ।

धरान–८ का लालबहादुर माझीले मिर्गाैलाको नियमित डाइलाइसिस गराउँदै आएका थिए । प्रतिष्ठानमा नै डाइलाइसिस गराउँदै घरमा आएर आराम गर्दै आएका उनी असोज १३ गते एक्कासि ढलेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कोरोना भाइरसको परीक्षणका लागि पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ देखियो । पोजेटिभ आएपछि उनका आफन्त कसैलाई रिपोर्ट नदेखाई जबरजस्ती कोभिड अस्पताल लगियो ।

अस्पतालमा कार्यरत डाक्टरलाई रिपोर्ट माग्दा ‘तिमीहरूको बिरामी हेर्दैनाै भन्दै धम्काएको’ बताउँछन् मृतक लालबहादुरका छोरा दुर्गाप्रसाद माझी । उनी भन्छन्, ‘बाबालाई कोभिड अस्पताल लग्दासम्म खासै समस्या थिएन । त्यहाँ लगेपछि हामी सम्पर्कमा रहन पाएनौं । सम्पर्कका लागि हेल्पडेस्कमार्फत् २ वटा मोबाइल पठायौं । तर, अस्पतालको लापरबाहीले त्यो मोबाइल पनि बेपत्ता भयो ।’

मृतकका छोरा माझीले बाबालाई नियमित डाइलाइसिस गर्ने र औषधि समय–समयमा खुवाउनु पर्ने अवस्था रहे पनि कोभिड–१९ अस्पतालभित्र लगेपछि डायलाइसिस नगरेको, औषधि समयमा नदिएको बताए । अस्पतालको चरम लापरबाही भएकाले बाबाको मृत्यु भएको उनको आरोप छ ।
धरान उपमहानगरपालिका वडा नं. ११ का ५४ वर्षीय टीकाराम तामाङ ब्लडर आउटलेट अब्सट्रक्सन (पिसाबथैलीसम्बन्धी समस्या) रोगबाट ग्रसित छन् । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्नका लागि धरान उपमहानरपालिकाको सिफारिसमा निःशुल्क उपचार हुँदैछ ।

उनका दुवै खुट्टा चल्दैनन् । उनको अहिलेसम्म रिपोर्ट पाएका छैनन् । उनले कुनै पनि रिपोर्टको लागि दिनमा ४–५ पटक अस्पतालमा तल–माथि गर्नु परेको बताए । तामाङले पनि अस्पतालमा चरम लापरबाही भएको दाबी गरे । उनले भने, ‘खुट्टा चल्दैन, तल–माथि गर्दागर्दै दिन बित्छ, ४ दिन भयो रिपोर्ट आएन, के गर्नु ?’

त्यस्तै धरान–९ की पूजादेवी यादव पनि कोभिड अस्पतालमा चरम लापरबाही भएको बताउँछिन् । उनले बिरामीलाई औषधि र खाना समयमा नदिएको आफ्ना बिरामीलाई उद्धृत गर्दै ब्लाष्टकर्मीलाई बताइन् । उनले चिकित्सकले मागेबमोजिमको औषधि पठाए पनि बिरामीलाई नदिने गरेको बताइन् । उनले औषधि पनि अस्पतालको सेटिङमा धेरै मूल्यमा खरिद गर्न लगाउने गरेको दाबी गरिन् । खानालगायत अन्य सामानहरू बाहिरबाट पठाउँदा धेरै पछि मात्र बिरामीले पाउने र कति त अस्पतालमै हराउने गरेको पनि बताइन् ।

कोरोना भाइरसको कुनै पनि औषधि नभएको र निको हुने एउटै उपाय सन्तुलित खाना खानुपर्ने हुन्छ । अस्पतालमा उपचार त होइन, खानासम्म पनि समयमा नदिएपछि बिरामीको मृत्यु हुने गरेको धेरै आफन्तले बताए । बिरामीलाई बाहिरबाट आफन्तले पठाएको खानासमेत समयमा नदिने तथा औषधि पनि नदिएको कारणले धेरैको मृत्यु भएको अन्य बिरामीका आफन्तहरूलेपनि बताए । समस्या खेपिरहेका बिरामीका आफन्तले सोमबार प्रशासनमा गएर धर्ना नै दिएका थिए ।

यस विषयमा प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा लापरबाही नहुनुपर्ने बताए । यदि कहीँ त्यस्तो रहेछ भने प्रशासनमा कुरा गर्ने र समाधानमा लाग्ने बताए । औषधि पनि सेटिङमा खरिद गराउने गरिएको विषयमा आफूलाई जानकारी नभएको श्रेष्ठले बताए । उनले भने, ‘सोमबार कोरोना भाइरसका बिरामीहरू आक्रोसित भएर प्रशासनमा गएका थिए, सो विषयमा सामान्य छलफलपछि कुरा मिल्यो ।’