भद्रपुर । भारतबाट आउने जङ्गली हात्तीको बथानले पाकेको धानबालीमा क्षति पुर्याउन थालेपछि झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा सुरक्षाकर्मीहरू किसानको धान काट्न खेतमै खटिएका छन् ।
हात्तीको आक्रमणबाट पाकेको धानबाली जोगाउँदै किसानलाई समयमै बाली भित्र्याउन सहयोग गर्ने उद्देश्यले आइतबार २० जना सुरक्षाकर्मीहरूले स्थानीयको धान काटेर थन्क्याइदिए । जसमा १४ जना सशस्त्र प्रहरी र ६ जना नेपाल प्रहरी सहभागी थिए ।
सुरक्षाकर्मी, जनप्रतिनिधि, मानव-हात्ती द्वन्द्व व्यवस्थापन समितिका सदस्य, आरआरटी टोली र स्थानीय किसानसहित करिब ३० जनाको संयुक्त टोलीले दिनभरिमा झण्डै तीन बिघा क्षेत्रफलको धान काटेका थिए । स्थानीय खेमनारायण घिमिरेको तीन बिघा खेतको धान सामूहिक रूपमा काटेर भित्र्याउन सहयोग गरिएको वडानम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हात्तीको बथानबाट पाकेको बाली जोगाउन किसानलाई छिटोभन्दा छिटो धान भित्र्याउन आवश्यक भएकाले सामूहिक रूपमा धान काट्ने अभियान सुरु गरिएको हो । किसानको दुःखमा साथ दिन सुरक्षाकर्मी र स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसनीय रहेको उनले बताए । यस्तो सहयोगलाई निरन्तरता दिइने उनको भनाइ छ ।
धान काट्न खटिएका सुरक्षाकर्मी तथा अन्य सहयोगीलाई वडा कार्यालयका तर्फबाट खेतमै पुगेर खादा लगाई सम्मान तथा धन्यवादसमेत व्यक्त गरिएको थियो । भारतबाट नेपालतर्फ जङ्गली हात्तीको आवागमन बढ्ने समयमा बाहुनडाँगीका किसानलाई पाकेको धानबाली जोगाउन निकै कठिन हुने गरेको छ । हात्तीको बथान जुनसुकै बेला खेतमा पस्न सक्ने जोखिमका कारण किसान रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा सुरक्षाकर्मी र स्थानीय समुदायको संयुक्त पहलले किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्ने, सीमा सुरक्षा, चोरी-तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित नहुने बताए । नागरिकलाई विपद् र सङ्कट परेको समयमा उनीहरूको दुःखमा साथ दिनु पनि सुरक्षाकर्मीको महत्वपूर्ण दायित्व भएको उनको भनाइ छ ।
उनले मानव-हात्ती द्वन्द्व न्यूनीकरण तथा किसानको बाली सुरक्षाका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । यसका लागि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय सुरक्षा निकाय, मानव-हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, जनप्रतिनिधि तथा स्थानीय किसानलाई सामूहिक अभियानमा जुट्न आग्रह गरिएको छ ।
हात्तीको जोखिमका कारण वर्षभरिको मिहिनेत गुमाउनुपर्ने अवस्थामा पुगेका किसानको बाली जोगाउन सुरक्षाकर्मीसमेत खेतमा उत्रिएपछि बाहुनडाँगीमा मानव-हात्ती द्वन्द्व व्यवस्थापनका लागि सामुदायिक सहकार्यको सकारात्मक उदाहरण देखिएको छ ।
भारतबाट एक साता दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ ।
धान काटेर थन्क्याउने तयारीमा रहेका किसानलाई झन् चिन्ता बढेको छ । मेचीनगर-४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन् । प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षामा समस्या हुने गरेको उनले बताइन् । हात्तीको सम्भावित आक्रमण र क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले पनि सक्रियता बढाएको छ ।

































