विजयपुर । सुनसरीको धरानस्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम हुने भएको छ ।

शारदा बालिका पूर्वविद्यार्थी मञ्चको आयोजनामा आगामी मंसिर ५ गते शुक्रबार विद्यालय परिसरमा पुनर्मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 ‘हिजोका सम्झना, आजको भेटघाट र भोलिको सहकार्यः हामी सबै शारदा बालिका विद्यालयका पूर्वविद्यार्थी’ भन्ने नारासहित कार्यक्रम  आयोजना गर्न लागिएको मञ्चले जनाएको छ ।

कार्यक्रममा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी दिदीबहिनीहरूलाई पुराना सम्झना साटासाट गर्ने, छुटेका साथीहरूसँग भेटघाट गर्ने तथा आत्मीयता र भाइचारा थप प्रगाढ बनाउने उद्देश्य राखिएको छ ।

मञ्चले विद्यालयमा अध्ययन गरेका सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई आफ्नो व्यस्त समयबाट केही समय निकालेर कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

पुनर्मिलन विद्यालयमा हुनेछ । कार्यक्रममा सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।

मञ्चका अध्यक्ष रम्बा पोखरेल र सचिव नीला तामाङले संयुक्त रूपमा जारी गरेको निमन्त्रणामा पूर्वविद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सहभागी हुन तथा थप जानकारीका लागि आयोजकले पूर्वविद्यार्थीहरूलाई मञ्चसँग सम्पर्क गर्न आग्रह गरेको छ ।