धरान । लागुऔषधको अवैध कारोबारमा परिवारका सदस्यहरू नै सहभागी भएको पाइएको छ । 

भारतबाट ब्राउनसुगर लिएर नेपाल प्रवेश गर्ने क्रममा भारतीय एकै परिवारका तीन सदस्यलाई प्रहरीले रङ्गेलीबाट सोमबार पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्ला बोका मोजदार-२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान छन् । उनीहरूको साथबाट प्रहरीले २९ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार साँझ रङ्गेली नगरपालिका-४ स्थित चोप्राहा बोर्डरबाट उनीहरू पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रङ्गेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरू भारतबाट पैदलै नेपालतर्फ आइरहेका थिए । उनीहरूको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले चेकजाँच गर्दा सकुन्तलाले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा ब्राउनसुगर फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू सामान्य रूपमा लागुऔषध बोकेर सीमा पार गरिरहेका व्यक्ति मात्र नभई आपूर्ति सञ्जालमै संलग्न रहेको प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ ब्राउनसुगर ल्याउने गरेको आशङ्कामा थप अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार सुरुमा रघुनाथ आफै नेपाल आएर सीमाक्षेत्रको अवस्था र सुरक्षाकर्मीको गतिविधि नियालेर भारत फर्किएका थिए । सीमा क्षेत्रमा तत्काल सुरक्षाकर्मीको गतिविधि नरहेको यकिन गरेपछि उनले श्रीमती र छोरालाई लागुऔषधसहित नेपालतर्फ पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

आमा र छोरा ब्राउनसुगर बोकेर अघिअघि आएका थिए । रघुनाथ भने निकै पछाडि थिए । आमा र छोरा पक्राउपछि रघुनाथ भाग्दै गर्दा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । रङ्गेलीबाट पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखी थप अनुसन्धान थालिएको इन्स्पेक्टर अशोककुमार झाले जनाएका छन् ।