विजयपुर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ ।
धरानमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो ।
एपीएफको जितमा अनिता बस्नेत र गीता रानाले गोल गरिन् । खेलको पहिलो हाफको १०औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफकै ४३औँ मिनेटमा गीता रानाले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफमा आर्मीले खेलमा फर्कने प्रयास गरे पनि एपीएफको रक्षापंक्ति तोड्न सकेन । निर्धारित समयमा थप गोल हुन नसकेपछि एपीएफ २–० को जितसहित फाइनलमा पुगेको हो ।
प्रतियोगितामा एपीएफले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको एपीएफले सेमिफाइनलमा पनि विभागीय प्रतिद्वन्द्वी आर्मीलाई सहजै जितेको हो । क्वाटरफाइनलमा एपीएफकी पूर्णिमा राईले एक्लै चार गोल गरेकी थिइन् ।
यता, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा दीपा शाहीले चार गोल गर्दा जेनिफर रानाले ह्याट्रिक गरेकी थिइन् ।
कार्यक्रममा नेपाली महिला फुटबलकी गोलकिपर अञ्जना राना मगरलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी गीता राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

































