पथरीशनिश्चरे । उनमा गायनको भोक कत्ति पनि कम भएको छैन । घर व्यवहार धान्ने मेसोमा उनको गायकीले निरन्तरता पाउन नसकेको अवस्थामा यसबेला उनमा गायनको पाटोमा पुन: उत्साह भरिएको छ ।

मोरङको पथरी शनिश्चरे २ का जन्तरे मामा भनेर चिनिने ४८ वर्षीय गायक अमितकुमार राई यसबेला गायनको पुर्नजारण हुन पाएको र आफ्नो बसोबासको प्रवन्धमा सर्जकहरु नै जुट्न थालेकोमा ज्यादै खुसी छन् ।

पथरी शनिश्चरे नगरपालिका अन्तर्गत उपसमितिका रुपमा गठित ‘कला साहित्य प्रबर्धन समिति’ र लर्ड बुद्ध सहकारी संस्थाले संयुक्त रुपमा गायक राईंलाई उनकै निवासमा सम्मान गरेपछि उनको उत्साह पुनर्जागृत हुन पुग्यो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईं, कला साहित्य प्रबर्धन समितिका अध्यक्ष वीरध्वज सिवा, सचिव रोहित पराई, सहकारीका व्यवस्थापक गणेश बछाना राईंले ५ हजार नगद सहित सहकारीको सेयर सदस्यको प्रमाणसहित सम्मान प्रदान गरेका थिए ।

२ नम्वर वडा कार्यालयको तर्फबाट वडाध्यक्ष यामप्रसाद गुरागाईं र सदस्य अरूणा राईले ५ हजार रकम सम्मानस्वरूप उपलब्ध गराए ।

उनको घर निर्माणका लागि सहयोग समिति गठन भएको अवस्थामा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईंले सहयोग समितिलाई सहयोग गर्ने, तत्काल जस्तापाता उपलब्ध गराउने बचन दिए । कला साहित्य प्रवद्र्धन समितिले उनको गायकी जीवनको डकुमेन्ट्ी निर्माण गरिदिने भएको छ ।

स्वरसम्राट नारायण गोपालले गाएका गीतहरु गाउन मन पराउने र जिवन्त रुपमा गाउँले उनको कलाका बारेमा युट्युव च्यानलहरुमा उल्लेख भएपछि उनी एकाएक भाइरल नै बनेका थिए । जस अनुरुप विदेशमा रहनेहरुले समेत सहयोग गर्ने इच्छा प्रकट गरे ।

पथरी शनिश्चरकै गायक तथा संगीतकार गौरब दर्पणले उनलाई संगीतको पक्षमा गाइड गरेपछि गीत रेकर्डिङको कार्य अघि बढ्यो ।

शुभेच्छुकहरुकै सहयोगमा उनका लागि गोपालचन्द्र राईको शब्द र तोरेम्पाको संगीतमा ‘फूलै फूलको सौगात तिमीलाई’ बोलको गीत पहिलो पटक रेकर्ड भएको छ ।

दोस्रो गीत गायिका एलिना चौहानसँगको स्वरमा कृष्ण उदासीको शब्द, बादल लिम्बूको संगीत एरेञ्जको ‘साँचेर राख’ गाएर रेकर्ड भइसकेको छ ।

योसँगै उनको जिर्ण अवस्थाको झुप्रे घर निर्माणका लागि स्थानीय सर्जकको अगुवाईमा सृजनाप्रेमीहरु जुटेका छन् । उनका समकालिन र एउटै वडाका गायक धनराज राई अमीरको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन भएको छ ।

जसमा सचिवमा सन्तोष राईं, कोषाध्यक्षमा कुमार राईं, सदस्यहरूमा देव गुरूङ, गौरब दर्पण, किशोर श्रेष्ठ, जमुना राईं, ईश्वर दुलाल र करण धिताल रहेका छन् ।

धनराजले तत्काल उनलाई गिटार उपलब्ध गराएका छन् । आफ्नो तन्नेरी उमेरमा गीत गाउँनमा मरिहत्ते गर्ने उनले दैनिक हातमुख जोड्नु पर्ने वाध्यात्मक अवस्थासँग गीतसँगीतलाई नै व्यवसायिक बनाउन सकेनन् ।

आफ्नो रुचीको क्षेत्रमा आफु फर्किन पाउनु मात्र होइन आफ्नो स्वरमा गीत रेकर्ड गरिदिएपछि जन्तरे औधी खुसी छन् । ‘यो बेला आएर यस्तो खुसी प्राप्त होला भन्ने लागेको थिएन, म ज्यादै खुसी छु ।

गीत संगीत मेरो प्राण हो, यसमा फेरि रमाउन पाएँ, अरुलाई पनि यसैमा प्रोत्साहित गर्छु ।’– उनले खुसी हुँदै भने । ‘कलामा अब्बल अवस्थाका हाम्रो साथीको अवस्थालाई उजागर गर्न मात्र होइन उनको बसोबासको बन्दोवस्त गर्नु हामीले हाम्रो कर्तव्य ठानेर यो अभियानमा जुटेका छौं ।’– धनराजले भने ।