वराहक्षेत्र मन्दिर परिसरस्थित सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई युवालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापनका लागि खटिएको टोलीले उद्दार गरेको छ । 

टोलीमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पूष्पलाल मोक्तानले आज बिहान १० बजे कोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका झापा गौरादहका युवालाई सकुशल उद्दार गरेका हुन् । 

यस्तै जेटबोटको सहायताले सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले धरानका युवालाई समेत उद्दार गरिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका युवालाई सशस्त्र प्रहरीले आफन्तको जिम्मा लगाएको छ । 

महाकुम्भ मेलाको सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकलीबाट खटिएका सशस्त्र प्रहरीको प्रादेशिक विपद व्यवस्थापनको टिमले उद्दारमा सकृयता देखाइरहेको छ ।

विपद व्यवस्थापनमा ११ जना सशस्त्र प्रहरी वराहक्षेत्रस्थित सप्तकोसी नदीमा खटिएका छन् । केही दिन अघि पौडी खेल्ने क्रममा डुबेका चार जनालाई समेत सशस्त्र प्रहरीले उद्दार गरेको थियो ।