झापा/ स्वस्थ जीवन प्रवद्र्धनका लागि सार्वजनिकस्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ।

थोरै लागतमा निर्माण हुने खुला व्यायामशालाको स्थापना गर्न स्थानीय पालिकाले बजेट लगानी गरेका छन् भने शारीरिक अभ्यासका लागि बालबालिकादेखि वृद्धवृद्धासम्म झुम्मिने गरेका छन्। 

मेची उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश शाक्य हरेक बिहान ‘मर्निङ वाक’ का लागि मेचीनगर–१० स्थित निन्दा करिडर जानुहुन्छ । करिडरमा स्थानीय वडाले हालै निर्माण गरिदिएको आधुनिक व्यायामशाला छ, जहाँ उनले दैनिक एक घण्टा बिताउछन्। 

“सबैले घरमा व्यायामका महँगा आधुनिक उपकरण किनेर राख्न सम्भव छैन”, शाक्यले भने, “सरकारले नै पायक पर्ने स्थानमा यस्ता खुला व्यायामशाला खोलिदिने हो भने आमनागरिक लाभान्वित हुन्छन्।” पहिले राजमार्गमा ‘मर्निङ वाक’ हिँड्ने गरेकोमा खुला व्यायामशाला निर्माण भएपछि निन्दा करिडर नै धाउने गरेको उनले जानकारी दिएका छन्।

मेचीनगर –१० को वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट तीन लाख ४५ हजार ७ सय ४० दिएपछि रमणीय स्थान चयन गरेर खुला व्यायामशाला निर्माण गरिएको निन्दा करिडर प्रवद्र्धन समितिका अध्यक्ष धर्मेन्द्र खड्काले बताएका छन् । 

“पाँच दशकअघि निन्दा नदीको किनारमा निर्मित तटबन्ध क्षेत्रलाई सरसफाइ, वृक्षरोपण र सौन्दर्यकरण गरेर निन्दा करिडरको रुपमा विकास गरेका छौँ”, अध्यक्ष खड्काले भने, “मर्निङवाकका लागि मानिस आउन थालेपछि हामीले यहाँ खुला व्यायामशाला निर्माण गर्ने सोच बनायौँ। हाम्रो प्रस्ताव राम्रो लागेपछि वडा कार्यालयले बजेट दियो ।”

निन्दा करिडरमा बिहान ५ बजेदेखि ९ बजेसम्म मर्निङवाकमा आउने दैनिक एक सयभन्दा बढी सर्वसाधारणले खुला व्यायामशालाको फाइदा लिइरहेको उनले बताए। निःशुल्क सेवा भएकाले विपन्न एवं श्रमिक वर्गका मानिससमेत शारीरिक अभ्यासका लागि खुला व्यायामशालामा आउने गरेका छन्। 

कनकाई नगरपालिकाले वडा नं ३ स्थित सुरुङ्गा बजारमा तीन वर्षअघि नै खुला व्यायामशाला निर्माण गरेको थियो। राजमार्गको बसस्टेन्ड छेउमा निर्मित उद्यानमै व्यायामशाला गरिएको हो। ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई नगरपालिकाले प्रदेश सरकारको १२ लाखमा आन्तरिक स्रोतबाट ४५ लाख थपेर ५७ लाखको लागतमा खुला व्यायामशाला र बाल उद्यान निर्माण गरेको हो।

उक्त व्यायामशालामा १२ वटा आधुनिक उपकरण राखिएको छ। व्यायामशालाको उपयोग गर्नेले कुनै शुल्क तिर्नुपर्दैन। “नगरवासीलाई स्वस्थ रहन प्रोत्साहित गर्न आफ्नै लगानीमा निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याएका हौँ”, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले भने, “निजी उपकरण राख्न धेरै खर्च लाग्छ। 

व्यावसायिक जिम हाउसमा जाँदा पनि शुल्क तिर्नुपर्छ। नगरवासीको आरोग्यताका लागि सुविधा उपलब्ध गराउनुलाई जिम्मेवारी ठानेर खुला व्यायामशाला निर्माण गरिएको हो ।” व्यायामशाला निर्माणका लागि कनकाई सामुदायिक वनले चार कट्ठा जग्गा उपलब्ध गराएको छ। सो जग्गामा व्यायामशालासँगै बाल उद्यान र सुरुङ्गाको कलात्मक प्रतीक पनि राखिएको छ। 

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले रोग लागेर उपचारका लागि महँगो खर्च गर्नुभन्दा रोग लाग्नै नदिने उपायको खोजीतर्फ लाग्नुपर्ने भएकाले नियमित व्यायामका लागि स्थानीय सरकार लगानी बढाउन तयार रहेको बताएका छन्।

झापामा स्थानीय तहले व्यायामशालामा लगानी बढाउन थालेका छन्। मेचीनगर, कनकाई, भद्रपुर र हल्दिबारीले आफ्नै लगानीमा निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याइसकेकाछन्। खानपान र जीवनशैलीमा आएको परिवर्तनले मानिसमा विभिन्न प्रकारका रोगले च्याप्ने गरेको छ। रोग लागिसकेपछि उपचारका लागि कैयनले घरखेत बेच्नुपरेको पनि छ। 

अवस्थामा सरकारी लगानीमा निःशुल्क व्यायामशाला खुल्नु प्रशंसायोग्य कार्य भएको छ। बुद्धशान्ति–३ मा आदर्श सामुदायिक वन उपभोक्ता समितिले र हल्दिबारी वडा नम्बर –५ को शान्ति आधारभूत विद्यालयमा हल्दिबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेका छन्। ती व्यायामशालालाई मर्निङवाकमा हिँड्नेले नियमित गन्तव्य बनाउने गरेका छन्।

 घुमघामका लागि आउने आन्तरिक पर्यटक पनि मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायामशालामा आकर्षित हुने गरेका छन्। हल्दिबारी गाउँपालिकाले ‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन अभियान’ अन्तर्गत खुला व्यायामशाला सञ्चालनमा ल्याएको जनाएको छ। खुला व्यायामशालाको प्रयोगमा महिलाको ठूलो सङ्ख्या आकिर्षत भएको पाइएको छ। 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले आन्तरिक स्रोतबाट १५ लाख, र जनसहभागिताबाट तीन लाख ६५ हजार गरी १८ लाख २८ हजार तीन सय ६८ को लागतमा खुला व्यायामशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताएका छन्।