धरान / मानव स्वास्थ्य र वातावरणलाई समेत प्रतिकूल असर गर्ने ‘पारो’ नामक तŒव पाइने प्रतिबन्धित मागुर प्रजातिको ‘क्याट फिस’ माछा भन्सार कार्यालय र क्वारेण्टाइनको सेटिङमा नेपाल भित्रिने गरेको पुष्टि भएको छ ।
भारतले सन् २००० मा नै प्रतिबन्ध लगाएको ‘क्याट फिस’ त्यहीँ उत्पादन भएर नेपालमा ल्याउने क्रममा सुनसरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेपछि वर्षौंदेखि भित्रिने गरेको खुलेको हो ।
सुनसरी प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर कागजमा ५ हजार ८ सय २० केजी परिमाण उल्लेख भए पनि ७ हजार ५ सय १० केजी माछा नष्ट गरिएको छ । विराटनगरको रानी भन्सार र क्वारेण्टाइनबाट जाँच पास भएको माछा सुनसरीको इनरुवा–४ स्थित बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका एसपी कमल थापाले बताए ।
भारतको पश्चिम बङ्गाल राज्यको उत्तर चौबीस परागाना जिल्लाको एमएस स्वारन्ली एक्सपोर्टले विराटनगर–१८ को एमएस एसजीआई एग्रो प्रालिलाई पठाएको कागजातमा उल्लेख छ तर माछा भने सुनसरी आउँदै गरेको अवस्थामा भेटिएको छ । परागाना जिल्लाको स्वरूप नगरका २४ वर्षीय इमामुल गोल्दार चालक रहेको डब्लु बी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गर्दा तीन दिनअघि नियन्त्रणमा लिएको हो । बरामद गरिएको माछाको बजार मूल्य १५ लाख रुपैयाँभन्दा बढी पर्ने एसपी थापाले पत्रकार सम्मेलनमा बताए ।
भारतमा सन् २००० मै प्रतिबन्धित माछा नेपालमा भने बिक्रीका लागि पठाइँदै
‘बिलमा ५ हजार ८ सय २० केजी उल्लेख छ तर, केही माछा मरेर गन्हाइसकेकाले १ सय ९० केजी यसअघि नै नष्ट गरियो’ उनले भने, ‘नष्ट गरिएको र अरू माछा तौलिँदा सात हजार ५ सय १० केजी देखियो ।’ बिल र तौलमा समेत फरक रहेको पाइएपछि माछा ठूलै व्यवसायीले ल्याउने गरेको आशङ्का गरिएको छ । माछालाई जिल्ला प्रहरी कार्यालय परिसरमै खाल्डो खनेर नष्ट गरिएको थियो भने ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि सेतुबन्धु भन्सार कार्यालय पठाइएको एसपी थापाले बताए । माछा बरामद गरिसकेपछि प्रहरीलाई छाड्नका लागि चौतर्फी दबाव आएको एसपी थापाले बताए । उनले पहिलो पटक यो परिमाणमा माछा बरामद भएकाले अब दोस्रो चरणमा माछा ल्याउने व्यापारीको खोजी हुने बताए ।
विराटनगरसम्मको मात्रै अनुमति प्राप्त गरे पनि माछा सुनसरी आइपुग्नुले ठूलै व्यापारीहरूको संलग्नता भएको अनुमान प्रहरीले गरेको छ । प्रहरीले माछा बरामद गरेपछि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ बाट खटिएको टोलीले माछाको जाँच गर्दा प्रतिबन्धित भएको प्रतिवेदन दिएको छ । यो माछा थाइल्याण्डबाट उत्पादन शुरु भएको यो माछाको वैज्ञानिक नाम क्लेरियस गेरिपाइन्स हो । जसमा ८० प्रतिशतसम्म पारोको मात्रा पाइने दाबी गरिन्छ । जसका कारण मानव स्वास्थ्य र वातावरणलाई पनि प्रतिकूल असर पु¥याउने बताइन्छ ।
पत्रकार सम्मेलनमा सहभागी बनेका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले वातावरणमा असर पुग्ने र मानव स्वास्थ्यमा पनि प्रतिकूल असर पुग्ने माछा रहेको भन्ने जानकारी पाएकाले अब पूर्ण रूपमा नियन्त्रण गरिने बताए । उनले आम नागरिकको सरोकार राख्ने विषय भएकाले प्रशासन यस विषयमा गम्भीर भएर लाग्ने समेत बताए । अक्सिजनको मात्रा नभएको एकदमै दूषित पानीमा पनि बाँच्न सक्ने यो माछाले रैथाने प्रजातिलगायत कीटपतङ्ग सबै नै खाइदिने यसको विशेषता रहेको विभिन्न अध्ययनले देखाएको छ ।