राष्ट्रियता भनेको व्यक्तिको आस्था र भावनालाई जोडेर हेर्न सकिन्छ । राष्ट्रियता आफ्नो सभ्यता, संस्कृति र मौलिकताप्रतिको अनुराग, प्रेम एवम् सम्मोहन पनि हो । राष्ट्रियता व्यक्तिको स्वाभिमान र गौरवसँग जोडिएको पनि हुन्छ । जसको रक्षाको निमित्त ऊ मर्न र मार्न तयार हुन्छ । निश्चय नै कुनै पनि देशको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमिकता शून्यमा सिर्जना भएको हुँदैन । प्रत्येक मुलुक चाहे सानो होस्, गरिब होस् या ठूलो र धनी होस् । आ–आफ्नो भूगोल, इतिहास, संस्कृति र सभ्यता अनुरूपका राष्ट्रियताका आधारहरू हुन्छन् । विदेशीहरूले नेपालमा नाङ्गो नाच देखाइरहँदा यो कुराको अलिकति हेक्का भने पक्कै हुनु जरुरी छ ।

हामीले पनि यो बिर्सन हुँदैन कि राष्ट्रियताको मुख्य पक्ष भनेकै एकताको भावना हो । एउटा व्यक्तिलाई राष्ट्रिय सङ्कटमा राष्ट्रको अस्तित्व रक्षार्थ राष्ट्रियताभन्दा ठूलो अर्को कुनै कुरा हुनै सक्दैन । यो विषय वर्षौंदेखि छिमेकीले लुटेको भू–भाग समेटेर नक्सा तयार गर्ने र आफ्नो भू–भाग माग्ने हिम्मत गर्ने साहसिक व्यक्ति केपी ओलीको मात्र होइन, नेपाली हुनुमा गर्व गर्ने हामी सबै नेपालीको विषय हो । पछिल्लो समयमा राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी ओली, माननीय गङ्गा चौधरी, नेपाली चेली मनिषा कोइरालाहरू छिमेकीहरूको हेपाहा प्रवृत्ति विरुद्ध खरो रूपमा उत्रिएका छन् । स्वाधीनता र राष्ट्रियताका लागि जीवन उत्सर्ग गर्न पछि नपर्ने सरकारमा रहेका राष्ट्रवादी शक्ति र सडकमा रहेका राष्ट्रवादी शक्तिबीच समन्वयात्मक सम्बन्धको अपरिहार्यता भएको छ ।

प्रधानमन्त्री ओलीले सयौंैं वर्षदेखि कुनै शासकले हिम्मत नगरेको नयाँ नक्सा जारी गर्ने र निसान छाप फेर्ने काम गरे, त्यसलाई चानचुने काम मान्न सकिँदैन । उनले अझ शक्तिशाली छिमेकीको हेपाहा प्रवृत्तिको प्रतिवाद निरन्तर गरेर आफ्नो पद र प्रतिष्ठा नै दाउमा राखेर राष्ट्रियता उजागार गरेका छन् । यो नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ । त्यति मात्र होइन, राष्ट्रियताका सवालमा नेपालीको आवाज बुलन्द गर्ने गङ्गा चौधरी र मनिषा कोइरालाहरूको अब देशमा खाँचो छ । सार्वभौम, अखण्डता र स्वाभिमान नेपालीको धुकधुकी भएको प्रमाण अब उनीहरूले जस्तै राष्ट्रवादी नेपालीहरूले दिनु पर्दछ । ता कि विदेशी दलालहरू स्वदेशमा बसेर मातृभूमिमाथि घात गरिरहेका छन्, उनीहरूलाई एउटा कतिलो झापड बनोस् । नेपालमै रहेका विदेशी दलालहरूको डिजाइनमा मुलुकलाई जुन किसिमको अनिर्णयको बन्दी बनाउने खेल भइरहेको छ, त्यो स्वाभिमानी नेपालीलाई पाच्य हुन सक्दैन । नेपाल स्वाधीन राष्ट्र हो । यो कहिल्यै विदेशीको गुलाम बेनको इतिहास छैन । विदेशी शक्तिले के बुझ्न जरुरी छ भने ‘हटी होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने स्वाभिमानी नेपाली हुन्छ ।’ पछिल्लो समयमा नेपालीको राष्ट्रियता र स्वाभिमानमा आँच आउने जुन गतिविधि भइरहेको छ, त्यो किमार्थ शुभलक्षण र सङ्केत होइन । भारतीय मिडियाले बिजेपीको गुणगान गाएर नेपालविरुद्ध जुन किसिमको विष वमन गरिरहेका छन्, त्यो शोभनीय हुँदै होइन । अन्तर्राष्ट्रिय पत्रकारिताको मान्यतालाई धज्जी उडाएर नेपाल विरुद्धको कुप्रचार भइरहँदा राष्ट्रवादीहरूले त्यसको खुलेर सामना गर्नु पर्दछ । अखण्डता र सार्वभौमिकता, स्वाभिमान देशविरुद्ध षड्यन्त्रणका तानाबाना बुन्ने छिमेकीहरूले एउटा इतिहास बिर्सनु हुँदैन । हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई नेपाली महिला, केटाकेटीहरूले खुँडा, खुकुरी, ढुङ्गा मुढाले प्रतिकार गरेर परास्त गरेको नालापानी युद्धको इतिहास छ । एउटा खुकुरीले युद्ध लडेको वीर गोर्खालीको इतिहास मरेको छैन भन्ने कुरा नेपालप्रति गिद्धे दृष्टि लगाउनेहरूलाई हेक्का हुनु जरुरी छ ।