• राज माङ्लाक 

नेपाल मूलतः इन्द्रेणी समाजले निर्मित मुलुक हो । यहाँको विविध रङले बनेको सामाजिक संरचनाको विश्लेषण नगर्ने हो भने कला, साहित्य, इतिहास, संस्कृति, समाजमनोविज्ञान, राजनीति, अर्थव्यवस्था अथवा जात वा जाति व्यवस्था केही पनि खुट्याउन सकिँदैन । इतिहासको अध्ययन पनि त्यस्तै हो । नेपालमा अहिलेसम्म गरिएका सबै अध्ययन शासकको आँखाबाट हेरेर गरिएका छन् । अथवा जित्नेको इतिहास लेखिएको छ, हार्नेको उल्लेख छैन ।

उल्लेख गरिहाले पनि खलपात्रको रुपमा चित्रण गरिएको भेटिन्छ । हार्ने जति सबै अपराधी त होइनन् । बरु जित्नेले धेरै आपराधिक कार्य गरेर विजय हासिल गरेका उदाहरण प्रशस्त छन् । यस्तै हार्नेहरुको कोणबाट लेखिएको पुस्तक हो– आदिवासी विद्रोहको इतिहास ।
पत्रकारिता तथा प्राध्यापन क्षेत्रमा लामो समय बिताएर अहिले इतिहासको खोजप्रति केन्द्रित राजकुमार दिक्पाल साहित्यमा पनि अग्रणी लेखक हुन् । धनकुटाबाट पत्रकारिता तथा साहित्यको शुरुवात गरेका उनले धरान हुँदै काठमाडौंसम्मको सङ्घर्ष व्यतित गरे । उनले गरेको धरानको साहित्यकर्म र पत्रकारिताको सङ्घर्ष आज पनि चर्चा हुने गरेको छ । साहित्य, संस्कृतिप्रति कलम चलाउँदै गरेका उनी पछिल्लो समय इतिहासको विषद खोज र अध्ययनमा जुटेका छन् । उनको इतिहासप्रतिको अभिरुची र लगावको प्रतिफल हो यो पुस्तक । पछिल्लो पटक चाख मानेर पढेका पुस्तक हुन्–डोरबहादुर विष्टको ‘भाग्यवाद र विकास’ र उनै दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ । संयोगले यी दुवै मेरा रुचिका पुस्तक रहे । यीमध्ये यहाँ आदिवासी विद्रोहको इतिहास पुस्तकसम्बन्धी केही लागेका कुरा लेख्ने जमर्को गरेको छु ।

लेखक आहुतीका अनुसार नेपालका जनजातीय इतिहासमा उनीहरु कमजोर हुने वा कमजोर पारिएका तीनवटा महŒवपूर्ण टर्निङ पोइण्टहरु छन् । ती हुन् पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र राजा महेन्द्र । पृथ्वीनारायण शाह पहिलो टर्निङ पोइण्ट यस कारण हुन् कि उनले नेपालमा षड्यन्त्रपूर्वक मात्र होइन, निर्ममतापूर्वक जनजातिहरुमाथि आक्रमण गरेर खसआर्य शासनपद्धतिको जग बसाले । दोस्रो जङ्गबहादुर राणा हुन् । उनले वि.सं. १९१० मा मुलुकी ऐनमार्फत् हिन्दु शासकहरुलाई नेपालमा शासन व्यवस्थाका निम्ति कानूनतः व्यवस्थित गरिदिए । अर्को टर्निङ पोइण्ट राजा महेन्द्र हुन् । उनले खसआर्य र हिन्दु मूल्य, मान्यता अनुरुपको राष्ट्रियताको जग बसाले । गाई, झण्डा, लालीगुराँस यसका उदाहरण हुन् । दृश्य वा अदृश्य यिनै तीन टर्निङ पोइण्टबाट तयार भएको जगमा नेपालको शासन व्यवस्था अहिलेसम्म निरन्तर छ । जनजाति, आदिवासीहरु आजको हविगतमा आइपुग्नुमा यिनै जगहरु महŒवपूर्ण छन् ।

राजकुमार दिक्पालको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ मा यिनै तीन शासकको विरुद्धमा जनजातिहरुले विभिन्न समयमा गरेका विद्रोहको फेहरिस्त पढ्न पाइन्छ । यसमा सात आदिवासी जातिले राज्यविरुद्ध लडेको विद्रोहबारे गहिरो खोज गरेर विभिन्न घटनाहरु प्रस्तुत गरिएका छन् । लिम्बू, तामाङ, माझकिरात, भोटे, मगर, गुरुङ र आठपहरिया राईले विभिन्न समयमा राज्यविरुद्ध आवाज उठाएको प्रसङ्गको मिहिन खोज त छ नै सँगसँगै यसबाट आदिवासीहरुको राज्यसँग असन्तुष्टिको फरक पनि पत्ता लाग्छ ।

गोर्खा र लिम्बूबीच भएको युद्धमा लिम्बूहरुले पटक–पटक लामो समयसम्म विद्रोह गरेका थिए । यसक्रममा सभाखोला किनारमा रघु राना र वीर लिम्बू काङ्सोरेको युद्धमा छलकपटपूर्वक गोर्खालीले काङ्सोरेलाई मारेको घटना आज पनि लिम्बूहरुले संवेदनशील रुपमा सम्झिन्छन् । त्यस्तै पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरुबीच विभाजन गरेका हुनाले केही लिम्बूहरु भागेर सिक्किम पुग्न बाध्य भएका थिए । उनीहरु सिमानामा छापामार युद्ध गर्दै बसेको इतिहास कमैलाई थाहा होला । आफूलाई प्रदान गरिएको सुवाङ्गी अधिकारका बारे पनि लिम्बूहरुमा बेलाबेला छलफल र परिचर्चा हुने गर्छ । गोर्खाली र सेनबाट लिम्बूहरुले सुवाङ्गी अधिकार लिएको इतिहास धेरैलाई थाहा छ तर सिक्किम राज्यबाट पनि सुवाङ्गी प्राप्त गरेको कुरा कमैलाई थाहा छ । यी र अन्य पक्ष पनि पुस्तकभित्र पाइन्छन् ।

पुस्तकमा लेखकले लिम्बूका मिहिन इतिहासको खोजी गरेका छन् । यसमा लिम्बूहरुले गरेको चैनपुर विद्रोह, किपट गुमेपछि यसलाई फर्काउन गरिएको प्रयास, लिम्बूहरुको सांस्कृतिक विद्रोह, सैनिक विद्रोह पठनीय छन् । गोबधसम्बन्धी प्रतिबन्धमा लिम्बूहरुले गरेको विद्रोह पनि यसमा छ । लिम्बूको एक देवता छन्, जसलाई गाई वा गोरुको बलि अनिवार्य दिनुपर्छ । यस्तो भोगलाई ‘करङ्पित’ भनिन्छ । राज्यले यस्तो बलीको प्रतिबन्ध गरेपछि अहिले लिम्बूहरुले सुँगुर र राँगा चढाएर आफ्नो पूजा अनुष्ठान सम्पन्न गर्छन् । लिम्बूको अर्को संवेदनशील पक्ष भनेको लिम्बुवानको भूगोल र यससँग गाँसिएको किपटप्रथा हो । लिम्बुवानको किपट व्यवस्था भूमिसुधारको नामबाट २०२१ मा खोसिएपछि लिम्बूहरुले आफूले प्राप्त गर्दै आएको किपटका निम्ति पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डलको तर्फबाट अनेक प्रयास भएका थिए तर फिर्ता भएन । पुस्तकले लिम्बूहरुले कुनकुन बेला कुन विषयमा विद्रोह गरे भन्ने सटिक र स्पष्ट इतिहास पाठकलाई दिएको छ ।

दोस्रो खण्डमा तामाङ विद्रोहसँग सम्बन्धित इतिहास प्रस्तुत गरेका छन् लेखकले । यसमा तामाङले पनि राज्यविरुद्ध पटक–पटक युद्ध गरेको देखिन्छ । वि.सं. १८५० तिरै विद्रोहको क्रममा राज्यपक्षबाट एक हजार तामाङ काटिनु चानचुने होइन । तामाङले गोरखा राज्यसँग पनि विद्रोह गरेका थिए । तीमध्ये पनि तिमालको युद्ध निक्कै हृदयविदारक छ । पृथ्वीनारायण शाहले शान्ति सम्झौताका लागि रिन्छिन दोर्जेलाई बिना हातहतियार बोलाएर बालुवामा लुकाइराखेको हतियारले षड्यन्त्रपूर्वक टाउको काटेर सुनकोशी नदीमा बगाएको घटनाले स्तब्ध बनाउँछ । वि.सं १९१० को मुलुकी ऐनले राई, लिम्बू, मगर, गुरुङ आदि जनजातिलाई नमासिन्या मतवाली अन्तर्गत राखेको थियो भने तामाङलाई मासिन्या मतवाली अन्तर्गतको जनजातिमा राखेको थियो । मासिन्या मतवाली भनेको मास्न मिल्ने, काट्न वा मार्न मिल्ने र किनबेच गर्न मिल्ने अन्तर्गतको जनजाति हो । यसमा उपर्युक्त कार्य गरेमा कानून नलाग्ने भनिएको हो । मासिन्या अन्तर्गत राखिएको कारणले आजसम्म पनि तामाङहरु सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा सबैभन्दा किनारामा पुगेको कुरो स्पष्ट छ । उनीहरुलाई ‘तामाङ’ लेख्न कतिसम्म सकस थियो भन्ने तामाङ विद्रोह खण्डमा हेर्न सकिन्छ ।

माझकिरात विद्रोह (१८६४)मा पनि राज्यबाट क्रुरतापूर्वक दबाउने काम भएको थियो । खार्पाका त्रिलोचन पोखरेलले चौदण्डीको माटोको डल्लो लिएर पृथ्वीनारायण शाहलाई भेट्न पुगेका थिए । उनले नै माझकिरात विजय कसरी गर्न सकिन्छ भनेर जुक्ति पनि दिए । माझकिरातका चौतरिया भइसकेका स्वरुपसिंह कार्की गोरखाली सेनामा भर्ना भएर उल्टै माझकिरात राज्यमा आक्रमण गरेका थिए । यहाँको युद्ध निक्कै डरलाग्दो भएको थियो । त्यस युद्धमा एक हजार खम्बू सेना मारिएका थिए भने चारसय जति नदीमा बगाइएको थियो । चौधसय महिला र बालबालिका पक्राउ गरिएको थियो । हज्सन पेपरमा पनि माझकिरातको युद्धमा गोर्खालीले स–साना बालबालिकालाई ओखलमा हाली कुटेर मारिएको, गर्भवतीहरुलाई छुट्याइएको, छोरा पेटमा भएकालाई डल्लै निकालेर मारिएको कुरा उल्लेख गरिएको छ । माझकिरातमा खम्बुहरुले गरेको विद्रोह स्मरणीय देखिन्छ ।

मगरहरु राज्यसँग धेरै पहिलेदेखि कहीँ न कहीँ जोडिँदै आएका छन् । जनयुद्धमा समेत उनीहरुको राम्रै उपस्थिति भएको कुरा सबैलाई अवगत छ ।  पृथ्वीनारायण शाहले मगर सेनाको सहयोगमा नै पूर्वतिर लडेका थिए । पछि लखन थापाले जङ्गबहादुर राणाको निरङ्कुशता र स्वेच्छाचारिताविरुद्ध विद्रोह गरे । लखन थापाले कसरी जङ्गबहादुर राणाको हत्या योजना बुनेका थिए भन्ने रोचक प्रसङ्ग पुस्तकमा हेर्न सकिन्छ । यही क्रममा उनको हत्या भएको थियो । उनलाई नेपालका प्रथम शहीदका रुपमा चिनिन्छ । लेखकले लखन थापाको बारे लामै खोज गरेका छन् । त्यसो त लखनभन्दा अघि पनि तले रोहानीको नेतृत्वमा ठूलो विद्रोह भएको थियो । त्यसरी नै गुरुङहरुले पनि जङ्गबहादुर विरुद्ध नै विद्रोह गरेका थिए । सुकदेव गुरुङले ठूलै योजना बनाएर विद्रोहको थालनी गरे पनि उनी पक्राउ परिहाले । आफूलाई ‘बौद्ध बादशाह’ घोषणा गरेर शुरु गरेका थिए तर उनको जेलमा नै मृत्यु भयो । उनको मृत्युपछि सुपति गुरुङले विद्रोहको नेतृत्व लिएका थिए ।

पुस्तकमा भोटेहरुले खानी सञ्चालन गर्न जङ्गबहादुर राणाले पठाएको आदेशको विरुद्धमा लडेको प्रसङ्ग पनि स्मरणीय छ । भोटेहरुले राज्यका विरुद्ध गरेको विद्रोहले केन्द्रको भन्दा पनि उनीहरुको स्थानीय स्वायत्त समाज बलियो भएको प्रष्ट हुन्छ । आफ्नो गाउँमा आएर जङ्गबहादुरद्वारा खटाइएका मानिसले खानी उत्खनन् गर्न थालेपछि ल्होगाउँका भोटेहरुले विद्रोह गरेका छन् । त्यस्तै धनकुटाका आठपहरिया राईले पनि राज्यको विरुद्धमा विद्रोह गरेका छन् । राज्यबाट दशैं लादिएपछि उनीहरुले आफ्नो परम्परामा नभएको चाड मानेनन् । यही कारण धनकुटाका आदिवासी आठपहरिया राई रामलिहाङ र रिदामाले वि.सं १९३३ मा मृत्युदण्ड भोग्नु प¥यो । उनीहरुलाई दशैं नमानेको अभियोगमा जङ्गबहादुर राणाको आदेशमा मृत्युदण्ड दिइएको थियो । आठपहरियाहरुको दशैं विद्रोह पनि पुस्तकभित्र पढ्न पाइन्छ ।

समग्रमा यो पुस्तक शासकबाट आदिवासी जनजातिहरुले भोग्नुपरेको उत्पीडनको चित्र हो र सँगसँगै दमन, संहार र आन्तरिक उपनिवेशप्रति गरिएको प्रतिकारको आवाज पनि हो । जनजातिहरुसँग यस्ता अनेकौं दमनका इतिहास छन् । भाषा, साहित्य, संस्कृति, धर्म तथा समाज मनोविज्ञानसँग जोडिएका उत्पीडन आजसम्म पनि निरन्तर छन् तर पुस्तकमा र छलफलमा जति आउनु पर्ने त्यति आउन सकेको छैन । लेखक राजकुमार दिक्पालबाट भने इतिहासमा दबिएर सुसुप्त रहेका घटनाहरु बाहिर आएका छन् । यो सह्रानीय पक्ष हो । जनआन्दोलन २०६२/६३ पछि आदिवासी जनजातिले आफ्ना हरेक क्षेत्रमा रेनेसा महसुस गरिरहेका छन् । कला, साहित्य, संस्कृति, राजनीति, सामाजिक व्यवस्था लगायत अनेक क्षेत्रको पुनर्संरचना तथा पुनर्लेखनमा लागेको बेला यस पुस्तकले इतिहासको गहिराइमा पु¥याएर आफूप्रतिको अञ्जान इतिहासप्रति फर्किन आह्वानसमेत गरेको छ । आदिवासीसम्बन्धी लेखिएका पुस्तकले नखोजेका र नपहिल्याएका नवीन तथ्यहरु पनि यसमा छन् । भिन्न कोणबाट आदिवासीका इतिहासलाई विश्लेषण गरिएको छ ।

पुस्तकमा पत्रकारिताको भाषा र शैली अपनाइएको छ । लेखकले पत्रकारितामा प्राप्त गरेको सीपलाई उपयोग गरेका छन् । पुस्तक आदिवासी विद्रोहको इतिहास भनिए तापनि सातवटा जनजातिको इतिहास मात्र भएको हुनाले पाठकलाई अपूरो महसुस हुन्छ । तराईका आदिवासीको इतिहास आउन बाँकी नै छ । त्यसो हुन सकेको भए झनै राम्रो हुन्थ्यो । यद्यपि यो मात्र यस्तो पुस्तक हो, जसमा आदिवासीको मात्र विद्रोह र युद्धको इतिहास पढ्न पाइन्छ । यसको अर्को सबल पक्ष भनेको परिशिष्ट भागमा ताम्रपत्र, लालमोहर, रुक्का, आदेश पत्र, अर्जी, बयान पत्र, इस्तिहार आदि समेट्न सक्नु हो । यसले विभिन्न विद्रोहलाई पुष्टि गर्नुका साथै विश्वसनीयता दिलाएको छ । यसर्थ पनि पुस्तक पठनीय र सङ्ग्रहणीय छ भन्न आनाकानी गर्नु पर्दैन ।