सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ ।

सुनसरीको रामधुनी नगरपालिकास्थित प्रस्तावित इलाका प्रहरी कार्यालयले प्रयोग गर्ने को.१ ब २३३४ नम्बरको सरकारी मोटरसाइकल ठगी तथा चोरीमा संलग्न विवादित पृष्ठभूमिका वराहक्षेत्र नगरपालिकाका सुवास पौडेलले प्रयोग गरिरहेको भेटिएको हो । प्रहरीको मोटरसाइकलमा हिँडिरहेका पौडेललाई बुधबार स्थानीयले झुम्का बजारबाट नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

पक्राउ परेका पौडेलले आफू प्रहरीको डिएसपी भएको भनी ठगी गर्ने, झुक्याउने र मोबाइल चोरी गर्ने गतिविधि गर्दै आएको थाहा पाएपछि प्रहरीको जिम्मा लगाइएको स्थानीय व्यवसायी शम्भु बस्नेतले बताए । उनले भने, “आफूलाई डिएसपी हुँ भन्दै हिँड्ने मान्छे प्रहरीकै मोटरसाइकलमा देखेपछि हामीलाई शङ्का लाग्यो” बस्नेतले भने, “ठग्ने र चोरी गर्ने व्यक्ति रहेको हामीले बुझेपछि प्रहरीलाई बुझाएका हौँ ।”

चोरीमा संलग्न व्यक्तिले प्रहरीकै मोटरसाइकल प्रयोग गर्नुले गम्भीर शङ्का उब्जाएको रामधुनी–५ का पूर्व वडाध्यक्षसमेत रहेका घटनाका प्रत्यक्षदर्शी डेगराज फुँयालले बताए । उनले भने, “चोरीमा संलग्न व्यक्तिले बजार क्षेत्रमा खुलेआम प्रहरीकै बाइक प्रयोग गरेर हिँड्नूले सुरक्षा निकायको भूमिकामा गम्भीर शङ्का उब्जाएको छ । घटनाबारे छानबिन हुनु जरुरी छ ।”  

पक्राउ परेका पौडेलले पछिल्लो समय स्थानीय एक महिलाको मोबाइल चोरी गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर लेखनाथ दाहालले पुष्टि गरे । चोरी गरिएको मोबाइल बिहीबार सम्बन्धित पक्षलाई फिर्ता गरिएको उनले जानकारी दिए । इन्सपेक्टर दाहालका अनुसार पक्राउ परेका पौडेलको पृष्ठभूमि हेर्दा ठगी धन्दामा संलग्न रहेको पाइएको छ । २०८० कात्तिक ४ मा उनलाई वराहक्षेत्रको महेन्द्रनगर इलाकाले पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो भने त्यसको करिब २ महिनापछि इप्रका पकलीले समेत ठगी मुद्दा चलाएको पाइएको छ । 

इन्स्पेक्टर दाहालले भने, “पक्राउ परेका व्यक्ति विभिन्न समयमा ठगीमा संलग्न भएको पाइएको छ । पटक–पटक ठगी गरेको आरोपमा यसअघि पनि पक्राउ परेका रहेछन् । उनी कारागारसमेत परिसकेका व्यक्ति हुन् भन्ने बुझिएको छ । थप कुरा अनुसन्धानबाट थाहा हुन्छ नै ।” घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको र अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । पौडेलमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसैबीच प्रहरीले प्रयोग गर्ने सरकारी मोटरसाइकलजस्तो संवेदनशील साधन विवादित पृष्ठभूमिका व्यक्तिसम्म कसरी पुग्यो भन्ने प्रश्न उब्जिएको छ । प्रहरी प्रवक्ता खतिवडाले पनि असम्बन्धित व्यक्तिलाई मोटरसाइकल दिएको कमजोरी स्वीकार्दै घटनामा संलग्न प्रहरी कर्मचारीमाथि समेत छानबिन हुने स्पष्ट पारे । उनले भने, “प्रहरी कर्मचारी झुम्का हटियामा सामान किन्न जाने क्रममा उक्त व्यक्ति सँगै गएको भन्ने छ । त्यहीँबाट बाइक लिएर गएको पाइएको छ । यसमा प्रहरीको तर्फबाट पनि गल्ती भएको छ । घटनामा संलग्न प्रहरीको भूमिका पनि छानबिन गर्नेछौँ ।”

त्यस्तै, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे आफूलाई स्पष्ट जानकारी नभएको र दोषी भेटिए कारबाही गर्ने बताए । उनले भने, “मलाई घटना ठ्याक्कै थाहा भएन । यदि त्यस्तो हो भने मोटरसाइकल प्रहरीबाहेक अन्य व्यक्तिसम्म कसरी पुग्यो त्यो पनि छानबिनबाट खुल्नेछ । दोषी देखिए कानून बमोजिम कारबाही हुन्छ ।”