धरान । भारतको बिहार प्रहरीको खोजी सूचीमा रहेका एक आरोपीले नेपालमा आई आफ्नै सालीको गोली हानेर हत्या गरेका छन् । 

भारत बिहार राज्य पत्राहा पञ्चायत वडानम्बर १६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ जटले सुनसरी हरिनगर गाउँपालिका–६ महरम चोककी १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार गरी हत्या गरेका हुन् । हत्याको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । एसपी तिम्सिनाका अनुसार मियाँ भारतीय प्रहरीको खोजी सूचीमा रहेका छन् । “भारतीय प्रहरीले आपराधिक पृष्ठभूमिको हो भनेर पुष्टि गरेको छ” उनले फोनसम्पर्कमा भने, “चार–पाँचवटा केस छ भन्छ ।”

घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । “खोजी भइरहेको छ । पक्राउ परेपछि नै घटनाबारे खुल्ला । पीडित परिवार पीडामा छ । कसैले केही भन्न सक्दैन । एकदमै सामान्य परिवारका मानिसहरू हुन्”–एसपी तिम्सिनाले भने । आरोपीको गोली प्रहारबाट खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना मङ्गलबार बिहानको राति साढे २ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनाबारे थाहा पाउनेबित्तिकै प्रहरी चौकी घुस्कीहाटबाट सइ सुरेश यादवको कमाण्डमा प्रहरी टोली पुगी कानूनी प्रक्रिया पूरा गरेको जनाएको छ । 

घटनास्थलबाट प्रहरीले सानो हतियारमा लाग्ने नपड्केको एक थान गोली फेला पारेको छ । शवको मुचुल्का गरी कानूनी प्रक्रियाका लागि पोष्टमार्टम गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपी आपराधिक गतिविधिमा संलग्न रहेको र भारतीय प्रहरीको तीव्र खोजी सूचीमा रहेका व्यक्ति हुन् । शव पोष्टमार्टमपश्चात् शव गफार मियाँलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा मृतकको दिदी पनि सँगै रहेकी थिइन् । तर उनी हात झट्कारेर भाग्न सफल भएकी थिइन् । घटनाबारे थप बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।