विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरको कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेसँगै कोशी अस्पतालका कर्मचारीहरू आन्दोलित बनेका छन् । 

कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताललाई सेवा सूचीबाट हटाइएको निर्णयप्रति आपत्ति जनाउँदै कोशी अस्पताल विकास समिति कर्मचारी युनियनले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ । कोशी अस्पतालको एकाइ कार्य समिति अन्तर्गतको कर्मचारी युनियनले बुधबार अस्पतालका मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) डा. रुणा झामार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन–पत्र बुझाउँदै सो निर्णयले अस्पतालको सेवा प्रभावकारिता, पहुँच र सर्वसाधारणको अधिकारमाथि अक्षम्य प्रहार भएको भन्दै कडा विरोध जनाएको हो ।

ज्ञापन–पत्रमा उल्लेख गरिएअनुसार, कोशी अस्पतालमा दैनिक आउने झण्डै ५ सयजना बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्थानीय अर्थात् विराटनगर महानगरपालिकाका बासिन्दा हुन् । तर बीमा बोर्डको असार १९ गते बसेको निर्णयपछि साउन १ गतेदेखि कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । यस्तो विभाजनले विराटनगरसहित आसपासका जिल्लाबाट आउने हजारौं बिरामीहरूलाई अस्पताल प्रवेश नै बन्दजस्तै हुने स्थिति सिर्जना गरेको युनियनको ठहर छ ।

“शीतलहर, महामारी वा आकस्मिक घटना घटेमा बिमा नहुने वा रेफर नभएका बिरामीहरूलाई नाम दर्ता नहुनेजस्ता समस्याले ठूलो मानवीय सङ्कट निम्तिन सक्छ । यस्तो अवधारणाले अस्पताल प्रशासन, चिकित्सक, नर्सिङ तथा कर्मचारीलाई पनि कार्य सम्पादनमा गम्भीर असहजता उत्पन्न गरेको छ”–ज्ञापन पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई अनिवार्य रूपमा बीमामा समावेश गर्नुपर्ने निर्णय गरिसकेको अवस्थामा अस्पतालमै कार्यरत कर्मचारीहरू नै अब बीमाबाट बहिष्कृत हुने अवस्थामा पुगेको युनियनको दाबी छ । “प्रथम सेवा विन्दु नरहेकाले कर्मचारीहरूले पनि बीमा सुविधाबाट बञ्चित हुने अवस्था आएको छ । सरकार आफैले गरेको निर्णय आफैले खारेज गरेजस्तो भएको छ”–युनियनले भनेको छ ।

कोशी अस्पतालमा कोशी प्रदेशका मात्र नभएर मधेश र भारतकासमेत बिरामीहरू उपचारको लागि आउने गरेका छन् । “तर अब तिनीहरूले पहिले अन्य स्थानमा गएर रेफर लिएर मात्र अस्पताल आउनुपर्ने बाध्यता आएको छ” –ज्ञापनपत्रमा भनिएको छ । यसरी रेफरल झन्झट, ढिलासुस्ती, दोहोरिएको परीक्षणजस्ता समस्याले प्रदेशको सम्पूर्ण स्वास्थ्य प्रणाली तहसनहस हुने चेतावनी पनि युनियनले दिएको छ ।

युनियनले यो निर्णयलाई नियतवश गरिएको निजीकरण प्रवृत्तिसँग पनि जोडेको छ । उनका अनुसार, विराटनगरका केही निजी अस्पतालहरूले रेफरलद्वारा बिमा सेवाका बिरामीहरू तान्ने योजनामा रहेको आशङ्का गरिएको छ । “रेफरलको नाममा बिमाका बिरामीहरूलाई निजी अस्पताल पठाउने र कोशी अस्पताललाई पन्छाउने चाल देखिन्छ” कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले भने, “सेवाग्राहीको आवश्यकता र कोशी अस्पतालको महत्वलाई बेवास्ता गरी गरिएको यो निर्णय हामीलाई कदापि मान्य छैन । यसले सामान्य जनताको जीवन रक्षाका लागि खटिने स्वास्थ्य संस्थामाथि आघात पु¥याएको छ ।” 

यदि निर्णय तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष खड्काले चेतावनी दिए । “अस्पतालभित्र समस्या बढ्दो छ, बाहिर सरकार चुप लागेर बसेको छ” डा. खड्काले भने, “अबको केही दिनमै सरकारले निर्णय सच्याउँछ कि सच्याउँदैन हेरिन्छ, नत्र कर्मचारी, चिकित्सक, बिरामी सबै आन्दोलित हुनेछौँ ।”