धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५ हजार भन्दा बढी कोरोनाको पीसीआर परीक्षण गरी सकिएको छ ।

प्रतिष्ठान प्रशासनका अनुसार ५ हजार १३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२ जना संक्रमण भएको (पोजेटिभ) रिपोर्ट आएको छ । अन्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना परीक्षणको आधारमा प्रतिष्ठानमा न्यून संख्यामा मात्रै कोरोना भएको रिपोर्ट आएको बताए ।

बीपीमा उपचाररत कोरोना संक्रमितमध्ये थप तीन जना कोरोना मुक्त बनेका छन् । यसअघि एक महिलासहित १८ जना कोरोना मुक्त बनेका थिए । झापा कचनकवलका तीनै जना १५ देखि ४५ वर्षका पुरुष रहेका छन् । प्रतिष्ठानमा ९० जना उपचाररत थिए ।

यसक्रममा गत शनिबार खुट्टा भाच्चिएर पहाडी क्षेत्रबाट ल्याइएकी १० वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । खुट्टाको सल्यक्रिया पूर्व कोरोना भए नभएको परीक्षण गर्न ती बच्चीको स्वाब संकलन गरिएको थियो । आज (बिहीबार) सल्यक्रिया गर्ने तयारी थालिएको थियो तर, कोरोना पोजेटिभ देखिएपछि समस्या भएको हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले जानकारी दिए ।

गत शनिबार ल्याउँदा उनलाई सिधै बच्चाको आकस्मिक कक्षमा ल्याइएको थियो । खुट्टा भाच्चिएको भएपछि हाडजोर्नीका डाक्टरहरूले जाँच गरेका थिए । अहिले उनलाई जाँच गर्ने चिकित्सकहरूलाई विशेष निगरानीमा बस्नका लागि आग्रह गरिएको छ ।