धरान । माटोको ढिस्कोलाई पूजा गरिने एकमात्रै पूजास्थलको रूपमा परिचित बूढासुब्बामा आज (बिहीबार) विशेष पूजा गरिएको छ ।

वर्षमा दुई पटक विशेष पूजा गरिने प्रचलनअनुसार वैशाखे पूर्णिमाका दिन बूढासुब्बामा विशेष पूजाअर्चना भएको हो । यस दिन पूजारीको पूजास्थलबाट बूढासुब्बा मन्दिर स्थलसम्म बाजागाजाका साथ लिङ्गो ल्याउने चलन छ । जसमा केही गहना लिएर आउने चलन रहेको मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम मगरले जानकारी दिए । उनका अनुसार गहनामा चाँदीको आँखा, चाँदीको त्रिशुललगायतका सामग्री ल्याइन्छ ।

bhudasubba_dharan_tample-four

महानवमीको दिन पनि यसरी नै गहनासहित लिङ्गो ल्याउने चलन रहेको छ । वर्षमा दुई पटक मात्रै बूढासुब्बाको विशेष पूजा गरिने चलन छ । अन्य बेलामा सामान्य पूजाआजा हुने गरेको छ भने यो बेलामा बूढासुब्बा मन्दिरलाई बेहुली झैं सिंगारपटार गरिने चलन रहेको सचिव उत्तम मगरले जानकारी दिए । ‘आजको दिन बूढासुब्बाको विशेष दिन हो, यो दिनमा मन्दिरमा तोरण टाँग्ने चलन छ । अन्य बेलामा यस्तो गरिँदैन, सामान्य पूजा विधि भइरहन्छ’ उनले भने ।

आजका दिन किराँत समुदायको उभौलीको पनि पूजा गरिने गरिएको छ । यो वर्षमा एक पटक मात्रै गरिन्छ । आजैका दिन बुद्ध जयन्ती परेकाले पछिल्लो समय परम्पराअनुसार हरेक पूजारीले एउटा कुखुराको बली मात्रै दिने प्रचलन छ । बुद्ध जयन्तीको प्रचारप्रसार हुनुपूर्व मन्दिरमा सयौंको संख्यामा बली दिने प्रचलन रहेको विजयपुरबासी राजेन्द्र भण्डारीले जानकारी दिए । ‘हामी सानो हुँदा यहाँ ठूलै मेला लाग्थ्यो, बुद्ध जयन्तीको प्रचारप्रसार हुनुपूर्व सयौंको संख्यामा बली दिइने गरिन्थ्यो, अहिल परम्परा धान्नका लागि मात्रै बली दिइन्छ’ उनले भने ।

bhudasubba_dharan_tample_two

किराँती साकेलाकाे थान ।

बूढासुब्बामा साउनभरि, एकादशी, औंशी, सोह्रश्राद्ध र वैशाख पूर्णिमाको भालिपल्ट बली दिइँदैन । अन्य बेला बली दिने चलन छ । बूढासुब्बाको विशेष दिनका रूपमा वैशाख पूर्णिमाको अघिल्लो दिन मन्दिर परिसरमा रहेका बाँस काट्ने चलन रहेको छ । यो चलन पनि सदियौंदेखि नै चल्दै आएको छ । अन्य बेला हतियार प्रयोग गर्न नपाउने र वैशाख पूर्णिमाको अघिल्लो दिन मात्रै हतियार प्रयोग गरेर वर्षभरि ढलेको, सुकेको बाँस काटेर निकाल्ने चलन रहेको मन्दिर परिसरमै घर रहेका प्रेमप्रसाद पराजुलीले बताए । ‘अन्य बेला बाँसहरू ढल्यो भने पनि पन्छाउने चलन मात्रै छ, हतियार प्रयोग गरिँदैन’ उनले भने, ‘वर्षमा एक पटक मात्रै हतियार प्रयोग गरेर बाँस निकालिने गरेको मैले देखेको हुँ ।’

bhudasubba_dharan_tample

बूढासुब्बा मन्दिर ।

ती बाँसहरूलाई मन्दिरको रेखदेखका लागि बार बनाइन्छ । बाँसका ससना टुक्राहरू मानिसहरूले घरघरमा लिएर जाने गरेका छन् । त्यो बाँस लगेमा भूतप्रेत नलाग्ने, रक्षा गर्ने, रोगब्याध नलाग्ने विश्वास रहेको विजयपुरबासी राजेन्द्र भण्डारीले बताए । ‘यहाँको बाँसको झिक्रो लगेर वर्षभरि राखेमा भूतप्रेत नलाग्ने, रक्षा गर्ने विश्वास गरिन्छ’–उनले भने ।

bhudasubba_dharan_tample_3