भद्रपुर/ नेपाल–भारत सीमाको दशगजा क्षेत्र पुग्न साढे तीनसय मिटरको दूरी । नेपाली भाषा बोल्न असजिलो । नेपालमा नै बसोबास भए पनि सबै व्यवहार भारतमा नै । घरायसी सामान या स्वास्थोपचार भने नेपालतर्फ । टाढा रहेका अस्पतालको खासै महŒव नहुने ।

यी र यस्तै सेवा सुविधा लिँदै आएका थिए झापा कचनकवल–४ खुट्टामुनीका न्यून आर्थिक अवस्था भएका नूरजमाल मियाँ । हाल उनी ४६ वर्षको भएको बताउँछन् । गतवर्ष फागुनको २५ गते सानी छोरी बिरामी परेपछि सिलिगुडीमा उपचार गराउन बिहानै घरबाट बाहिरिए । उनीसँगै अन्य ५ जना भारतीय टेम्पो चढेर सिलिगुडीतर्फ लागे । केहीबेरपछि बिहान ८ बजे भारतको भेलागढी भन्ने स्थानमा ट्याक्टर र टेम्पो आपसमा ठक्कर खाँदा टेम्पोमा सवार एकजनाको मृत्यु भयो भने अन्य यात्रुसँगै मियाँको दुवै हात र खुट्टा भाँचियो ।

छोरी पनि सामान्य घाइते भइन् । घटना घटाउने दुवै चालक फरार भए । घट्नापछि मियाँले सिलिगुडीको एक अस्पतालमा एक महिना उपचार गराए । उनको नाममा कुनै सम्पत्ति नभएका कारण उपचारमा समस्या भएपछि बाबुको नाममा रहेको केही जमिनमध्ये साढे ३ लाख रुपैयाँमा १० कठ्ठा जमिन बिक्री गरे । उनको उपचारमा भारु साढे ३ लाख (नेपाली ५ लाख ६० हजार) खर्च गरी नेपाल आए । उपचार त भयो, तर उनको खुट्टा र हातको भर छैन ।

उनको जीविकोपार्जन नै खेती किसान भएकोले त्यो उनी चाहँदा चाहँदै पनि हाल गर्न सक्दैनन् । उनको अध्ययन पनि छैन । घरमा एउटा सानो किराना पसल छ, त्यो सकी नसकी उनले गर्दै आइरहेका छन् । गहभरि आँशु पार्दै भने, ‘खेती किसान गर्दै आइरहेको थिएँ, एकवर्ष यताबाट केही गर्न सक्दिनँ, समय–समयमा डाक्टरलाई देखाउन सिलिगुडी जानुपर्छ, के गर्नु उपचार गराउने रकम छैन ।’ गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाई पटक–पटक जानकारी गाराउँदासमेत वास्ता नगरेको उनी बताउँछन् । घरको आर्थिक अवस्था कमजोर त्यसमा पनि स–साना दुई छोरीको भविष्यप्रति दुःख लागेको उनी बताउँछन् ।

नेपालमा नै घटना भएको भए केही राहत पाउँथेँ होला तर, भारतका पुलिसलाई पटक–पटक भन्दासमेत प्रहरीबाट केही हुँदैन अदालत जानू भने । ‘मुद्दा लड्ने पैसा छैन के गर्नु’–उनले बिलौना गरे । घरको एकमात्र छोरो भएकोले सवै व्यवहार गर्नुपर्ने अवस्थामा यस्तो भएपछि दिन रात थाहा नभएको उनले सुनाए । सवारी साधन सुखानी ठानामा नै भए पनि चालक नभेटिएको प्रहरीले बताएको अजबिर मियाँ बताउँछन् । प्रहरीले पैसा खाएर उनीहरूलाई नसमातेको उनको आशङ्का छ ।

बिरामी परेपछि उनले एक किलो पनि सामान उठाउन नसकेको छिमेकीको भनाइ छ । पैसा अभाव भएका कारण पीडितले न्याय नपाएको उनीहरूले बताए । सवारी धनीले एक रुपैयाँ पनि उपचार खर्च नदिएको अजबिरले बताए । नेताहरूलाई भोट मात्र चाहिन्छ । यस्तो अवस्थामा कसैले दया गर्दैनन् । उनीहरूले स्थानीय सरकारप्रति गुनासो गरे । बिरामीलाई गाउँपालिका लिएर जाँदा घर–घरमा परिचय–पत्र बनाउने मान्छे आउँछन्, अनि नाम लेखाउनू भन्ने गरेको बताउँदै कुनै कुनै बेला १ हजार रुपैयाँ गाउँपालिकाबाट पाएको उनको भनाइ छ ।