मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ लिम्बू समुदायले आफ्नो पहिचान झल्काउने लोगोको रूपमा प्रयोग गर्दै आएको सिलाम साक्माको निर्माण कार्य शुरु गरिएको छ ।
सो सिलाम साक्मा नेपालमै पहिलो र अग्लो क्रङ्किटको सिलाम साक्मा हुने निर्माण समितिले दाबी गरेको छ ।

सिलाम साक्माको निमार्ण कार्र्र्य तीव्र रूपमा भइरहेको छ । मिक्लाजुङ–४ को डाङडुङेमा बन्ने स्थानमा बन्न लागेको सिलाम साक्मा निर्माण गर्न करिब १० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिलाम साक्मा निर्माण समितिका अध्यक्ष पूर्ण लावतीले जानकारी दिए । सिमेण्ट, मार्वल, बालुवा र गिट्टीको सम्मिश्रणबाट निर्माण गरिने उक्त सिलामसाक्माको ऊचाइ सात फिट र गोलाइ ४६ फिट रहेको निर्माण समितिका सचिव महेन्द्र थेगिमले जानकारी दिए । सात फिट उचाइमा रहने र सबैभन्दा माथि चार फिटको चर्तुभुज आकारको सिलाम साक्मामा सुन, चाँदी, तामाको लेप लगाइने बताइएको छ ।

सिलाम सक्मा भनेको विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन प्रयोग गर्ने लोगोे हो । सो लोगो लिम्बु समुदायको कर्मकाण्डमा फेदाङ्बा, येबा, साम्बा, देवारीहरूले बाँसको सिन्का र ऊनीको धागो बाट निर्माण गर्ने सिलाम साक्मा पछिल्लोपटक लिम्बूहरूको सामाजिक सस्था किराँत याक्थुङ चुम्लुङले लोगोको रूपमा प्रयोग गर्ने निर्णयसँगै यसको बृहतीकरण भएको छ ।

मिक्लाजुङ–४ मा निर्माण हुँदै गरेको सिलाम साक्मा निर्माण गर्न वडा कार्यालयको दुई लाख सहयोग उपलब्ध गराएको छ । थप अपुग रकम विभिन्न दाताहरूसँग सहयोग सङ्कलन गरी निमार्ण गर्ने लक्ष्य राखिएको बतइको छ ।

सिलाम साक्माको अर्थ सि ले मरेको, लाम बाटो र साक्माको अर्थ छेक्नु वा थुन्नु हो । मरेका आत्माहरूको विचार र उनीहरूको बाटो सधैंको लागि छेक्नु वा बन्द गर्नु भन्ने हुन्छ । सो सिलाम साक्माले त्यस क्षेत्रमा हुने र नयाँ आउने सबै मानिसहरूमा मृत आत्माहरूको विचार नलागोस् त्यस्तो केही दोष भए सबै सिलाम साक्माले हरोस् ।

अब उप्रान्त जीवित रहनेहरूको दिनचर्या स्वास्थ्य, स्फुर्ती उच्च मनोबल साथ बढ्ने ऊर्जा सिलाम साक्माले प्रदान गर्छ भन्ने जनविश्वास रहि आएको पाइन्छ । लिम्बू समुदायको पहिचानको रूपमा रहेको सिलाम साक्मा खासगरी सांस्कृतिक कार्यक्रम, सभा समारोहमा मानिसहरूले लगाउने प्रचलन छ ।