धरान/ धरान, ६ कक्षा पढ्दै गर्दा ‘अक्विरेम’ मा पालिने माछाको शौखका कारण जोडिएका धरानका चूडामणि लिम्बू अहिले यही पेशाबाट व्यावसायिक बन्ने प्रयासमा छन् ।

त्यो बेलामा १० रूपैयाँमा २ वटा माछा किनेर शौख पूरा गरेका उनी यसैबाट व्यावसायिक फड्को मार्ने तयारीमा छन् । लिम्बूसहित तीन जनाको सामूहिक लगानीमा धरान–४ मा ‘एभरेष्ट एकोपोनिक्स एण्ड फिस पाउण्ड’ कम्पनी दर्ता गर्दै व्यवसायीकरणको गोरेटो कोर्न थालेका छन् ।

करिब १७ का जमिनमा ७ वटा ठूला पोखरी र २० वटा ‘सिमेन्टेड पोखरी’ निर्माण गरी ‘अर्नामेन्ट फिस’ अर्थात् अक्विरेममा पालिने माछा उत्पादन थालेका हुन् । उनका अनुसार नेपालमा यो नै पहिलो हो । अक्विरेममा पालिने माछा थाइल्याण्ड र भारतबाट आयात गरिन्छ । केही वर्षअघिको तथ्याङ्क अनुसार करिब ३ करोड बराबरको ‘अर्नामेन्ट फिस’ नेपालमा भित्रिने गरेको थियो । त्यो अहिले दिन प्रतिदिन बढ्दो छ । तर, लिम्बूसहित सुमनकुमार श्रेष्ठ, बालकुमार लिम्बू जस्ता युवा व्यवसायीले नेपालबाटै उत्पादन गर्ने योजनाअनुरूप २०७५ फागुनबाट उत्पादन थालेका हुन् ।

अहिले बजारको मागलाई धान्न सकेका छैनन् । ‘सातामा म्याक्सिमम् ४ हजार फिसको माग छ, मिनिमम् पनि एकदुई हजारको माग आइरहेको छ’ उनी भन्छन्, ‘रिसेन्ट एक दुई हजार पनि पु¥याउन सकिएको छैन ।’ अहिले उनीहरूले दुई प्रजातिका माछाहरू पालन गरिरहेका छन् । एउटा जापानिज कोइ र अर्को गोल्डफिस ।

जापानिज कोइ प्रजातिमा झण्डै ५–७ प्रकारका माछाहरू रहेका छन् । जसमा बेक्को कोइ, ओरेञ्जी, यामाबुकी अघन, प्लाटिनम, हाइउत्सुरी, हारीवाकी, सेवा र कोहाकु छन् । त्यस्तै गोल्डफिसमा ४ प्रकारका छन् । जसमा ब्लाक ओरोण्डा, जेली ओरोण्डा, रिकिन र रञ्चु छन् । जापानिज कोइ जापानमा लक्की फिसका रूपमा लिइन्छ । यो हालै सबैभन्दा महँगो मूल्यमासमेत बिक्री भएको छ । बिक्रीका आधारमा गिनिज वल्र्ड अफ बुक रेकर्डमा समेत दर्ता भएको यो माछा १ दशमलव ७ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । जसको आयु २५ देखि ३५ वर्षसम्मको हुन्छ भने १५ केजीसम्म तौल हुने उनी बताउँछन् ।

यो माछा पालनका लागि उनले इन्टरनेट तथा युट्युबको साहारा लिए । जहाँबाट उनले अधिकभन्दा अधिक ज्ञान पाए । त्यही ज्ञानलाई अहिले सदुपयोग गरिरहेका छन् । एभेरष्टले हाल साढे २ इञ्चदेखि ८ इञ्चसम्मका माछा उत्पादन गरिरहेको छ । जसको बजार मूल्य ३० रुपैयाँ प्रतिगोटादेखि १ हजार रुपैयाँसम्म छ । बजार मागअनुसार उत्पादन बढाउनका लागि एभरेष्टले सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित कालापानीमा शाखा सञ्चालनमा ल्याएको छ ।

‘अब तीन प्रजातिको माछा पाल्ने सोच छ’ पार्टनरसमेत रहेका सुरेश राईले भने । उनका अनुसार यहाँ उत्पादन भएको माछाको सबैभन्दा बढी माग काठमाडौंमा छ । त्यसपछि पोखरा, बुटबल, धरान, इटहरी र विराटनगर रहेका छन् । ‘यो माछाको मुख्य बजार भनेको काठमाडौं नै हो, सबैभन्दा बढी डिमाण्ड पनि त्यहीँबाट आउँछ’–उनी भन्छन् । वार्षिक ४० देखि ५० हजार पिस माछा उत्पादन गर्ने लक्ष्य लिएका छन् । चार जनालाई रोजगार दिन सफल भएका छन् ।

निकट भविष्यमा उनीहरूले अर्नामेन्ट माछा मात्रै होइन, खाने खालका माछासमेत पालन गर्ने योजनामा छन् । यसका लागि अहिले मात्रै आधा करोडभन्दा बढी लगानी गरिसकेका छन् । अहिलेसम्म राज्यपक्षबाट कुनै खालको सहयोग तथा अनुदान प्राप्त गरेका छैनन् । तर, पनि अर्नामेन्ट माछामा थोरै भए पनि आत्मनिर्भर बनाउने र यस्ता माछाका लागि विदेश जाने रेमिट्यान्सलाई नेपालमै खपत गर्ने उनीहरूको योजना छ ।