विषय प्रवेश
सामन्तावादी राजा पृथ्वीनारायण शाह खाली खुट्टा उफ्रिदै मनोरञ्जन दिन्थे, लिन्थे । तीनका अन्य सन्तानले ‘ठमेलको नाइट क्लबमा’ आफ्ना प्रजालाई मनोरञ्जन दिन्थे । (१ पौष ०७६ राजेन्द्र महर्जन, कान्तिपुर) अहिले सामन्तवादको ठाउँमा “सङ्घीय लोकतान्त्रिक गणतन्त्र” व्यवस्था छ । सर्वहारा वर्गको हितमा लड्छु भन्ने नेतृत्व नेता र कार्यकर्ता “राजदरबार अन्तर्गतको गोकर्ण रिसोर्टमा” नाच्दै पार्टी भावनात्मक रूपमा एकता भएको भन्दै हार्दिकता साटासाट गर्छन् । गोकर्ण रिसोर्ट राजा–महाराजाको मात्र नभएर राजनीतिक दलको क्रीडास्थल बनेको छ । जो सत्ता अभ्यासको निर्णायक थलो पनि हो । प्रसङ्ग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक २९ मङ्सिरबाट शुरु भएको थियो । सो बैठकमा केही विषयहरू संशोधनसमेत भएको बताइन्छ । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो भने तत्कालीन कार्यक्रम “जनताको जनावाद” हो । अधिकतम लक्ष्य ‘साम्यवाद’ हो । प्रतिवेदनमा भनिएको छ, समाजवादको आधार निर्माण गर्न, समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै मानवजातिको सबैभन्दा विकसित सामाजिक, आर्थिक व्यवस्था साम्यवाद स्थापनाको दिशामा अघि बढ्नु हो । सैद्धान्तिक आधारमा यस्तो लक्ष्य लिएको भए पनि पार्टी एकता र सरकार गठनको दुईवर्षमा सन्तोषजनक कार्य नभएकाले नेतृत्वलाई घर्ती टेक्न आग्रह गरेका छन् । घनश्याम भुसाल भन्छन् ‘मन्त्री अर्ब, पिए करोड कमाउने धन्दामा छन् कसरी आउँछ समाजवाद ?’

उपगुटका कुरा
अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा गुट उपगुट पार्टीमा झाँगिएको निष्कर्ष प्रस्तुत गरेका छन् । (१ पौष २०७६, कान्तिपुर) गुट, उपगुटको चर्चा गर्दा सचिवालयका नेताहरूले नै यसको नेतृत्वसमेत गरेको बताएका छन् । नेकपाभित्र के.पी.ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा गुट–उपगुट रहेका छन् । स्थायी समितिको बैठकमा पार्टी नीति र विधान कार्यान्वयन गर्दै समानुपातिक समावेशी प्रतिनिधित्व र सामूहिक नेतृत्व प्रणाली स्थापित हुने गरी पदाधिकारी र केन्द्रीय सचिवालय विस्तार गर्ने सम्मको सुझाव दिएका थिए । (१ पौष २०७६, नयाँपत्रिका) नेता घनश्याम भूसाल भन्छन् “दलाल पुँजीवादीका कारण इमानदार कार्यकर्ता पाखा लाग्न थाले ।”

(१८ साउन २०७६) पार्टीको नीति, सिद्धान्त र विधान भन्दा व्यक्तिगत मनोगत कुण्ठाको विकाश भएको र पार्टीका असल कार्यकर्ता त्यही कुण्ठाको शिकार हँुदै गएका छन् । गुट–उपगुटले सामूहिक कमिटी प्रणालीमा धक्का लागेको देखिन्छ । अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भन्छन् “पार्टीमा पहिले संस्थागत छलफल हुन्थ्यो । अहिले छलफल गर्ने प्रणाली कमजोर भएको छ । सचिवालयलाई नै मुख्य ठानिएको छ । पार्टी प्रणालीलाई नेता कमिटी प्रणाली बनाएको छ । ” (१ पौष २०७६) यसकारण व्यक्ति स्वार्थमा आधारित भएकाले पार्टी अनुशासन समितिको निर्देशनलाई समेत पालना हुन नसकेको निष्कर्ष निकाल्न सकिन्छ । नेकपाको आन्तरिक मामिला नियाल्ने खगेन्द्र प्रसाईंका अनुसार पनि नेतृत्वको कार्यशैलीका कारण गुट–उपगुट बढेको हो । एकता प्रक्रियाले पूर्णता नपाएको भन्दै नेतृत्वहरू उम्कन खोजेको देखिन्छ ।” (१ पौष २०७६ कान्तिपुर)

पार्टी निर्माणको प्रश्न
कम्युनिष्टहरू विलासी जीवनतर्फ मोडिएकाले भ्रष्टीकरणको दलदलमा फसेका छन् । पार्टीका नेतृत्व, नेता, कार्यकर्ता व्यक्तिगत मनोगत कुण्ठाको शिकार हुँदै गएका छन् । नेतृत्व र नेताको पछि लाग्ने कार्यकर्ताले ठाउँ पाउने र तर क्षमता योग्यता भएका कार्यकर्ताको मूल्याङ्कनको आधारमा कामको जिम्मेवारी नपाउने अवस्था छ । पार्टीको कार्यभार, रणनीतिक लक्ष्य, तत्कालीन कार्यक्रमको उद्देश्य विपरीत यसले तत्कालीन कार्यक्रम “जनताको जनवाद” र दीर्घकालीन लक्ष्य समाजवाद तथा अधिकतम लक्ष्य साम्यवादको दिशा पूरा गर्न सकिदैन । निर्वाचनको सन्दर्भमा आंशिक सफलता हासिल गरेको भए पनि विरासत रहेको स्थानमा हार्न पुग्यो । कमिटी प्रणाली चलायमान नहुँदा गुट–उपगुटको घात–प्रतिघात भएकाले लामो इतिहास भएको ठाउँमा विरासत जोगाउन नसकेको हो ।

नेता घनाश्याम भूसाल भन्छन् “उही काम दोहोराएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन ।” (२ पौष २०७६ नयाँपत्रिका) वैचारिक साङ्गठानिक अस्पष्टता चरम गुटबन्दी र विधान विहीनता बोकेर कार्यकर्ताको परिचालन गरेर परिणाम नआउने स्पष्ट देखिन्छ । ठेक्कापट्टामा सहभागी हुने, निर्माण सम्पन्न नगर्ने जस्ता कार्यले प्रश्रय पाइरहेको छ , मन्त्रीदेखि वडाध्यक्षसम्म मुछिएका छन् । जनार्दन शर्मा भन्छन् “ पुरानो ठेकेदारले काम नगरे उपभोक्ता समितिमार्फत जनपरिचालन गरेर विकाश निर्माणको कामलाई तीव्रता दिनुपर्छ ।” (२ पौष २०७६ नयाँपत्रिका) नेपालमा दलाल पुँजीवादीले आफ्नो अनुकुलतामा पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियन्ता जन्माइरहेका छन् । चुनावमा जितेपछि उनीहरूको अनुकुलतामा काम गरिदिनुपर्ने अवस्था छ । आजको कम्युनिष्ट पार्टीले राष्ट्रिय पुँजी र समाजवादको राजनीतिक अर्थतन्त्र र संस्कृतिको पुनरुत्थान गर्नुपर्दछ । उत्पादन बढाउनुपर्छ अनि क्रान्तिले जित्छ । जुन पुँजीले जनतालाई रोजगारी दिन्छ, त्यो राष्ट्रिय पुँजी हो । जुन पुँजीले जनतालाई रोजगारी दिँदैन त्यो दलालपुँजी हो । समाजवादको आधार तयार गर्न, राष्ट्रिय पुँजीको विकाश गर्न, पार्टीका हरेक सदस्य आफ्नै श्रम, सीप र कमाइमा बाँच्छन् । राज्यले तोकेको कर तिर्छन् । सो कुरा राज्यले दुरुपयोग गर्नु हुँदैन ।

जबजको सैद्धान्तिक आधार
तत्कालीन नेकपा (एमाले) का महासचिव एवं जननेता मदन भण्डारीको अगुवाइमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत पारित सिद्धान्तलाई जनताको बहुदलीय जनवाद भनिन्छ । यसले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ । (हेर्नुहोस् जबज) पार्टी एकीकरणपछि जबज र एक्काइसौं शताब्दीको जनवाद (एशज) लाई फ्युजन गराएर “जनताको जनवाद” कार्यक्रमको रूपमा स्विकार गरेको छ । (हेर्नुहोस्, नेकपाको राजनीतिक प्रतिवेदन) यस कार्यक्रमले पनि मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मान्दछ “विशिष्ट परिवेशमा प्रयोग भएका ती सिद्धान्तलाई नजरअन्दाज गर्न सकिदैन ।” जबज र जनताको जनवादले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेकाले राजनीतिक प्रतिवेदन हेर्दा जबज भन्दा सारमा जनताको जनवाद फरक देखिँदैन ।

मदन भण्डारीले जबजमा समाजवादमा पुग्न तीन चरणका विषय उठाएका छन् । पहिलो समान्तवादको उन्मूलन मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि सामन्तवादका नेता ढले पनि अवशेषहरू कायम छन् । अहिले हामी सामन्तवादको अवशेषका समाप्तिका लागि समाजवाद उन्मुख दिशामा जान सङ्घर्ष गरिरहेका छौं । दोस्रो बहुदलीय प्रतिस्पर्धा, बहुलतायुक्त समाजबाटै प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न सकिने र तेस्रो जनवादी व्यवस्थाको सुदृढीकरण गर्दै जानुपर्ने बताएका छन् । जनताको सर्वोच्चता, संविधानको पालक, मौलिक अधिकार, मानव अधिकार, बहुमतको सरकार अल्पमतको विपक्ष , आवधिक, निर्वाचन, बहुलतायुक्त खुल्ला समाज, बहुदलीय प्रतिस्पर्धा, शक्तिपृथकीकरणको सिद्धान्त जस्ता विषय जबजमा उल्लेख छन् । यिनै विषय जनताको जनवादमा पनि उल्लेख गरिएका छन् । यसकारण यी तीन चरणलाई पार गर्दै समाजवाद उन्मुख यात्रा तय गर्न सकिन्छ । नेता ईश्वर पोखे्रल भन्छन् “जनताको बहुदलीय जनवाद” बाटै समाजवादमा पुग्न सकिन्छ । ” (२ पौष २०७६ पेज ५)

आजको माक्र्सवाद
माक्र्सवाद विज्ञान र विचार प्रणाली हो । सर्वहारावादी चरणको विज्ञान हो । (२०७६ः८४, प्रा.डा.गोपाल शिवकोटी) माक्र्सवादको प्रयोग, विकाश नेपालमा पनि भइरहेको छ । वर्गरहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ तर यसका स्वरूप परिवर्तन भइरहन्छन् । आजका युवाहरूले माक्र्सवादलाई जस्ताको तस्तै अपरिवर्तनीय नमानी त्यसबाट शिक्षा लिदै त्यसैलाई जीवन्तता दिँदै सिर्जनात्मक प्रयोग गर्दै समृद्ध बनाउने प्रयास गर्नुपर्दछ । कतिपय सन्दर्भमा सबै कुरा राष्ट्रियकरण हुने भनी माक्र्सवादले बताएको व्याख्या गरिदै आए पनि “माक्र्सले सबै कुरा राष्ट्रियकरण गर्नुपर्छ भनेका छैनन् । यो लेनिन र माओको कुरा हो ।” (२०७६ः२३७ चैतन्य मिश्रा) पुँजीवाद सधैं रहने विषय होइन । तर, यो मर्ने बेला भएको छैन । त्यसकारण माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै पुँजीवाद नमर्दै अघि बढ्ने हो । किन कि पुँजीवादले विकाश गरेको भौतिक संरचनालाई टेकेर नै समाजवादको जन्म हुन्छ । नेपालको सन्दर्भमा “बहुदलीय जनवाद, नयाँ जनवाद र जनताको जनवादको ताŒिवक भिन्नता छैन । (२०७६ः२० रामशङ्कर कँडेल) यसअर्थमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा आफ्नै विशेषताको आधारमा समाजवाद उन्मुख दिशामा जानुपर्दछ । जुन अहिले हामी जबज, एशज हुँदै जनताको जनवादमा छौँ ।

नेपालमा कस्तो प्रकारको समाजवाद ?
नेपालमा नेपाली विशेषता विकाश गरिएको ‘वैज्ञानिक समाजवाद’ माथिलो चरणको समाजवाद हुने उल्लेख छ । यही आधारमा सफलता प्राप्त गर्न सकिन्छ । यस्तो समाजवाद विश्वका अनुभवलाई हेरेर नेपालको विशेषतालाई सुहाउने खालको हुनुपर्दछ । नेपालमा समाजवाद विकाशको चरण चलिरहेको हुँदा संविधानमा पनि समाजवाद उन्मुख लक्ष्य रहेको उल्लेख छ । संविधानले स्वतन्त्रता, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्र र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेको छ । (२०७६ः३८३ प्रा.डा.गोपाल शिवकोटी) यसले सामाजिक, आर्थिक लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध समाजवादलाई स्विकार गर्दछ ।

बालिग मताधिकार मानव अधिकार, आवधिक निर्वाचन, मौलिक अधिकार, बहुदलीय व्यवस्था, बहुलतायुक्त समाज, शक्तिपृथकीकरण, बहुमतको सरकार, अल्पमतको विपक्ष जस्ता समाजवादका विशेषता रहेका छन् । (हेर्नुहोस् जबज, जनताको जनवाद र नेपालको संविधान) यसअर्थमा तुरुन्तै समाजवाद प्राप्त हुँदैन । यसका लागि चरणहरू पार गर्दै जानुपर्दछ । सामाजिक आर्थिक रूपान्तरण भनेको समाजवाद उन्मुख चरण हो । सामन्तवाद ढले पनि अवशेष कायम रहेकाले सार्वजनिक उत्पादनको साधनमाथि सार्वजनिक स्वामित्व स्थापना गर्न समाजवाद प्रस्थानतर्फ जानु भन्ने अर्थ हुन्छ । नेपालमा खासगरी दलाल पुँजीवादले समाजवादीहरूलाई निल्न सक्ने कुरा घनश्याम भूसालले बताउँदै आएका छन् । पहिलो समाजवादी उन्मुख चरण सकिएपछि दोस्रो चरणमा प्रवेश गर्नुपर्दछ । यो समाजवाद वैज्ञानिक समाजवाद हुनुपर्दछ । सबै विभेद, उत्पीडनको समाप्ति भएको हुनुपर्दछ ।

अन्त्यमा
समाजवाद उन्मुख रणनीतिक लक्ष्य क्रान्ति हो । अहिले नै समजवाद आउँदैन । यस्तो सङ्क्रमणकालमा कतिपय कम्युनिष्ट नेतृत्व, नेता, कार्यकर्तामा व्यक्तिवादी चिन्तन भएकाले गुट(उपगुटको पक्षपोषण गरेकाले समाजवाद उन्मुख रणनीतिलाई धक्का लागिरहेको छ । अहिले पुँजीवादको विकाश नभएर जनताको जनवादकै कार्यदिशाबाट राष्ट्रिय पुँजीको विकाश गर्नुपर्ने तर्क गर्छन् ईश्वर पोख्रेल । यसले समाजवाद निर्माणको चरणमा रहेको तथ्यलाई उजागर गर्दछ । नेकपाका नेता घनाश्याम भूसालका अनुसार राष्ट्रियपुँजीको निर्माणको बाधक दलाल पुँजीवाद हो । अहिलेको समाजवादीरूको प्रधान अन्तरविरोध दलाल पुँजीवादीसँग रहेको छ । यसलाई नसच्याए दलाल पुँजीवादले कम्युनिष्ट पार्टीलाई निल्न सक्छ । भूसाल भन्छन् “ बढी उत्पादन गरेमात्र क्रान्तिले जित्छ, नत्र दलाल पुँजीवादले कम्युनिष्ट पार्टी स्वयम्लाई निलिदिने सम्भावना छ । (२ पौष २०७६) । सरकारलाई राजस्व छल्ने, ठूला ठूला ठेकेदार कम्पनी र व्यापारीलाई छुट दिँदा भ्रष्टाचार बढ्ने हुनाले देशको राष्ट्रिय पुँजी निर्माणमा बाधा पु¥याउने, गुट–उपगुट बनाउने जस्ता कामले समाजवाद उन्मुख व्यवस्थालाई चुनौती दिइरहेको छ । यसमा समाजवादीहरू गम्भीर बनौं ।