बिर्तामोड / खोलाजन्य कर दोब्बर बृद्धिको बिरोध गर्दै आएका झापाको मेचीनगरका ब्यवसायीले उत्खनन, संकलन तथा बिक्री वितरण बन्द गर्ने भएका छन् । ठेकेदार संस्था बिनिता श्री ट्रेड एण्ड सप्लायर्सले गतबर्षको भन्दा दोब्बरका दरले निकासी कर असुल गर्न थालेपछि ब्यवसायी आन्दोलित बनेका हुन् ।
प्रदेश सरकारले दररेट बढाएर मुल्य तय गरेका कारण यसबर्षदेखि खोलाजन्य सामग्री महङ्गिएको मेचीनगर नगरपालिकाले जनाएको छ । तर, उपभोक्ताले भने गतबर्षको झण्डै बराबर परिमाणमा उत्खनन गर्ने स्विकृति दिएर पनि कर दोब्बर पारिएको भन्दै बिरोध गरेका छन् ।
मेचीनगर नगरपालिकाको हडिया, निन्दा, टिमाई र मेची खोलाबाट निर्माणका लागि आवश्यक पर्ने खोलाजन्य सामग्री उत्खनन हुँदै आएको छ । बिनिता ट्रेड एण्ड सप्लायर्सले ४ करोड ३३ लाख ३३ हजारमा यसबर्षको लागि खोलाजन्य सामग्रीको उत्खनन, संकलन र बिक्री तथा निकासी कर उठाउने ठेक्का पाएको छ । २ लाख १६ हजार घनमिटर सामग्री उत्खनन गर्न प्रारम्भिक वाताबरणीय परीक्षण (आइइई) प्रतिवेदनले अनुमति दिएको बताइएको छ ।
यही दर कायम रहेको खण्डमा सामग्री संकलन र निकासीबापत ठेक्का अंकभन्दा तेब्बर रकम संकलन हुने संघर्ष समितिका संयोजक केदार गिरीले बताए । उनले स्थानीय उपभोक्तालाई अन्याय गरेर ठेकेदार पोस्ने रणनीति बमोजिम करको दर बढाइएको बताए । उत्खनन तथा बिक्री गर्ने सामग्रीको परिणाम नघटाई ठेक्का अंक घटाइनुले ठेक्का प्रक्रियामा चलखेल भएको आरोप उनको थियो । गतबर्ष सोही परिणामको सामग्री उत्खननको जिम्मा पाएको ठेकेदार संस्थाले ५ करोड ५५ लाख रुपैंयाँमा ठेक्का लिएको थियो ।
संघर्ष समितिले करको दर घटाउन माग गर्दै बिहीबार मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । उहीहरुले ७ दिनसम्म खोलाजन्य सामग्री संकलन नगर्ने र अरुलाई पनि गर्न नदिने चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख आचार्यले प्रदेश सरकारसँग समन्वय गरेर करको दर घटाउन पहल थालिने आश्वासन दिएको ब्यवसायी देवेन्द्र अर्यालले बताए ।