धरान/ नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विश्व बैङ्कले लगानी बढाउने भएको छ ।

चार दिने नेपाल भ्रमणका क्रममा बैङ्कका कार्यकारी निर्देशकहरूको अर्थमन्त्री युवराज खतिवडालाई यी क्षेत्रमा लगानी बढाउने बताएका हुन् । नेपाल भ्रमणमा उनीहरुले नेपालको संघियतालाई सहयोग गर्ने तथा आर्थिक सहायता बढाउने विषयमा पनि छलफल गरेका छन् । विश्व बैङ्कको ११ सदस्यको टोली गत मङ्गलबारदेखि शुक्रबारसम्म नेपाल भ्रमणमा आएको थियो ।

विश्व बैङ्कले नेपालमा सहयोग गरेको ५० वर्ष पुगेको अवसरमा टोली नेपाल आएको हो । बैङ्कले नेपालमा सन् १९६९ नोभेम्बर ४ देखि सहकार्य शुरु गरेको थियो।भ्रमणका क्रममा टोलीले नेपाललगायत दक्षिण एशियाका बङ्गलादेश तथा माल्दिभ्सको पनि भ्रमण गरेको थियो । नेपाल भ्रमणका अवसरमा टोलीले नेपालको सङ्घीय तथा स्थानीय प्रतिनिधि तथा निजी क्षेत्र, विकास साझेदारहरूसँग समेत भेट गरेको थियो ।

भ्रमणपछि विश्व बैङ्कका भ्रमण दलका प्रवक्ता जर्ज चाभेज प्रेसाले नेपालले पछिल्लो समय गरिबी निवारण तथा स्थायी सरकारको विषयमा निकै राम्रो उन्नति गरेको बताए । यससँगै उनीहरूले भूकम्पपछि पुनर्निमाण भइरहेको काभ्रेपलान्चोकको पात्लेखेतमा पुगेर निरीक्षण पनि गरेका थिए । विश्व बैङ्कले ५० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा गरेर २५ आयोजनामा काम गरिरहेको छ । सोही अवधिमा विश्व बैङ्कले नेपाललाई २.४७ विलियन अमेरिकी डलर सहयोग गरिसकेको छ ।