विराटनगर / विराटनगर भन्सार कार्यालय अगाडी भारतबाट कच्चा पदार्थ बोकेर आएको लहरीले घिसारेर एक युवाको बिहीबार मृत्यु भए पछि सिमा क्षेत्र तनावग्रस्त बनेको छ । विराटनगर महानगरपालिका–१५ रानीका २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि नेपाल–भारत सीमा क्षेत्र तनावग्रस्त बनेको हो ।
एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सिंहलाई करिब २ सय मिटर लहरीले घिसारेर मारेकोे प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
लहरीले ठक्करबाट सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीले ठक्कर दिँदा दुर्घटना भएको डिएसपी खिउजुले बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लहरीका चालक भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले दुर्घटना गराउने लहरीसहित कम्तीमा १३ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर अहिले प्रदर्शन भइरहेको छ ।
घटनाको विरोधमा सुरु भएको नारावाजी र प्रदर्शनले उग्ररुप लिएसँगै सवारी साधन पनि सञ्चालन हुन सकेको थिएन् । मालसामान बोकेका कतिपय गाडीहरु भारतबाट नेपाल प्रवेश गर्न पाएका छैनन् । भन्सार यार्डमा रहेका गाडीहरुको जाँचपास पनि केही समय रोकिएको थियो ।
विराटनगर भन्सार कार्यालयमा सामानको जाँचपास गराएर उक्त लहरी विराटनगरतर्फ बढ्दै गरेको बेला दुर्घटना भएको हो । स्थानीय बासिन्दाले अहिले यात्रुबहाक तथा मालबहाक सवारी साधन सञ्चालनमा अवरोध गरेका छन् ।
मृतकका बुवा श्रवण सिंहले तीव्र गतिमा रहेको लहरीका कारण भएको दुर्घटनामा छोरा गुमाउनु परेको गुनासो गरे । उनले दोषीमाथि कारबाही हुनु पर्ने माग पनि गरेका छन् ।
दुर्घटनापछि फरार रहेका लहरी चालकलाई घटनास्थलमा उपस्थित गराउनु पर्ने, दोषीमाथि कारबाही हुनु पर्ने, लहरी लगायतका ठूला गाडीको ज्यादती बन्द हुनु पर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग स्थानीयको छ । स्थानीय अक्षलाल साहले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । सामान बोकेर आएका ‘हेभी’ गाडी सधैं लापारबाही पूर्ण तरिकाले चलाउने गरिएको र त्यसकै कारण बारम्बार दुर्घटना हुने गरेको उनको भनाइ छ ।