विराटनगर / विराटनगरस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड कोशीको कार्यालयमा भण्डारन गरि राखिएको लाखौं मुल्य बरावरको अनुदानको मल हराएपछि विवादमा मुछिएका कार्यालय प्रमुख नविनचन्द्र झाको सरूवा भएको छ । उनको सरूवा हेटौडा भएको छ भने गोदाम इन्चार्ज दिलचन्द्र राईलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनको केन्द्रीय कार्यालयले बर्खास्त गरेको छ । राईलाई केन्द्रीय कार्यालयले ३ महिनाको निलम्बनपछि १२ जेठमा बर्खास्त गरेको हो ।
राईलाई सोधिएको स्पष्टिकरण चित्त बुझदो नभएपछि बर्खास्त गरेको केन्द्रीय कर्यालय बर्खास्त गरेको पत्रमा उल्लेख छ । विवादमा मुछिएका कार्यालय प्रमुख झालाई भने केन्द्रीय कार्यालयले जोगाएर सरूवा मात्र गरेको छ । झालाई कारवाही स्वरूप केन्द्रीय कार्यालयले हेटौडामा सरूवा गरेकोे बुझिएको छ । झाको ठाउँमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. कोशीको कार्यालय प्रमुख भएर केन्द्रीय कार्यालयबाट राधेश्याम चौधरीलाई पठाएको छ । उनी आइतबारबाट कार्यालय हाजिर हुने बताइएको छ ।
सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक मल साल्ट ट्रेडिङ्गमा भण्डारण गरि राखिएको गोदामबाटै गायब भएको थियो । साल्ट ट्रेडिङ्गको गोदाबाट हराएको मलको मुल्य १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ हुन आउँछ । साल्ट ट्रेडिङ्गको गोदामबाट १ हजार ८ सय ८२ बोरा यूरिया, २ सय ४७ बोरा डिएपी र ३८ बोरा पोटास गरि २ हजार १ सय ६७ बोरा रासायनिक मल हराएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन केन्द्रीय कार्यालयले जनाएको छ । युरिया १ हजार ८ सय ८२ बोरा ७ सयको दरले १३ लाख १७ हजार ४ सय, डिएपी २ सय ४७ बोराको २ हजार १ सय ५० रुपैयाँका दरले ५ लाख ३१ हजार ५० र पोटास ३८ बोरा १ हजार ५ सय ५० रुपैयाँका दरले ५८ हजार ९० रुपैयाँ रहेको छ ।
केन्द्रीय कार्यालयको गरेको छानविनको निश्कर्ष सार्वजानिक नगरेपनि कर्मचारीहरूकै मिलेमतोमा व्यापारीहरूलाई अनुदानको मल बिक्री गरेको आशंका गरिएको छ । झा विराटनगरस्थित कार्यालयमा विगत पाँच वर्षदेखि प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए । सहकारीलाई मल वितरण प्रणालीमा पनि मनपरि तरिकाले वितरण गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको थियो ।
मल हराएको दोस्रो दिन नै राईले कार्यालय प्रमुख झालाई त्यसबारे जानकारी गराएको तर झाले केन्द्रीय कार्यालय सूचना नदिएको बताएका छन् । राईले कर्पोरेशनको उच्च तहका हाकिमको मिलेमतोमा मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायब पारिएको बताएका छन् । हराएकोमध्ये १२३३ बोरा मलेको जिम्मेवारी कार्यालय प्रमुख झाले बाटोबाटै विक्री गरेको आरोप राइले लगाएका छन् ।
युरिया मल मोरङको बुढीगंगा गाउँपालिकाको निमुवा स्थितको गोदाममा भण्डारण गरिएको ठाउँबाट गत कार्तिकमा हराएको हो । त्यस्तै पोटास र डिएपी सुनसरीको सोनापुर स्थित गोदामबाट गत वर्षको जेठ २२ गते हराएको बुझिएको छ । केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा आयात भएको, बिक्री भएको र भण्डारण भएको मलको विवरण नमिलेपछि घटनामाथि छानविन सुरु भएको थियो ।
भण्डारन गरि राखिएको गोदामबाट मल हराएपछि साल्ट ट्रेडिङ्ग कर्पोरेशनको केन्द्रीय कार्यालयले छानविन गरेपछि इटहरीस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दै आएको छ । अहिले पनि अनुसन्धान भइरहेको प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए । कार्यालय प्रमुख झालाई बयानको लागि अख्यितारले पत्र पनि काटेको बताइएको छ । ७२ घण्टा भित्र कार्यालयमा उपस्थिति हुन पत्र काटेको स्रोतले बताएको छ ।