विराटनगर / केही दिन यतादेखि परेको अविरल बर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि खाद्यान्न अभावले भोकभोकै बस्नु परेको उदयपुरको दुई गाउँपालिकामा प्रदेश १ सरकारले हेलिकप्टरबाट आज खाद्यान्न ढुवानी गरेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा प्रदेश सरकारले हेलिकप्टरबाट बिहीबार खाद्यान्य पठाएको हो ।
सो गाउँपालिका जाने बोटो पहिरोले अवरुद्ध भए पछि दुवै गाउँमा खाद्यान्न पुग्न नसकेर केही दिनयता गाउँका बासिन्दाहरु भोकभोकै बस्नुपर्ने अवस्था थियो । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरले मंगलबार हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउन आग्रह गरेपछि बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले हेलिकप्टरमार्फत ७ सय क्विन्टल खाद्यान्न पु¥याउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले खाद्यान्न ढुवानी गरेर ती गाउँपालिकामा पुर्याएको हो ।
विराटनगर विमानस्थलबाट हेलिकप्टरमार्फत खाद्यान्न सरकारले पठाएको थियो । दुवै गाउँपालिकाका करिब ३० हजार जनता खाद्यान्न ढुवानी हुने बाटो अवरुद्ध भएर विचल्ली अवस्थामा छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हेलिकप्टरमार्फत ८ हजार १ सय किलो चालम, १ हजार ९ सय ९५ किलो दाल, ५ सय किलो नुन र ५ सय लिटर खानेतेल ढुवानी गरिएको जानकारी दिए । विकट पहाडी ठाउँ भएकोले तत्काल राहत स्वरुप खाद्यान्न पठाइएको मन्त्री कार्कीले बताए ।