मोरङ/मोरङको पथरीशनिश्चरे नगरको प्रमुख वजारका रुपमा रहेको पथरी वजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ ।
३ दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२/८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक स्टिमेट गरेर योजना बनाइने नगर कार्यपालिकाको पछिल्लो बैठकले निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उनले उल्लेख गरे । अबको आर्थिक वर्षको वजेटमा चोकमा ड्रेन निर्माण गरिनु पर्ने चोकवासीको माग छ ।
वैठकले, नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्बर ७ मा थप जग्गा व्यबस्थापन गर्न समिति निर्माण गरेको छ । जसको संयोजकमा ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ तथा सदस्यहरुमा २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्बर अध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्बर सदस्य मैनाकुमारी राई लिम्बु रहेका छन् ।
नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा वजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञहरुसँगको अन्तरक्रियात्मक छलफल गर्ने निर्णय समेत भएको छ । अर्काे बैठक जेठ ३ गते बस्ने भएको छ ।